आगामी वैशाख १ देखि विश्वभर एकसाथ प्रदर्शन हुने नेपाली चलचित्र ‘पहाड’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा रित्तो पहाड र पानीको समस्यालाई विषयवस्तु बनाइएको छ। चलचित्रले अहिलेको नेपालकाे समसामयिक विषय उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए।
‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनील थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नवअभिनेत्री पञ्चमी घिमिरे मुख्य भूमिकामा छन्। निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए।
निर्देशक घिमिरेले यसपटक ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनील थापालाई पनि ‘पहाड’मा कास्ट गरेका छन्। फिल्मलाई प्रमोद प्रधानले छायांकन गरेका छन्। भारतमा चलचित्र, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’लगायतका चलचित्रमा सहकार्य गरेका छन्।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले डेब्यु गर्दै छिन्। चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।