उद्योगले धरौटी एक प्रतिशत मात्रै राख्दा हुने, आयातमा निजी क्षेत्रलाई राहत

विद्युतीय प्रणाली लागू भएका भन्सार कार्यालयबाट आयात गर्दा राख्ने धरौटीमा छुटको व्यवस्था

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले उद्योग र व्यापारिक संस्थाका लागि धरौटी दरमा परिमार्जन गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी प्रणाली लागू भएका भन्सार कार्यालयमार्फत हुने आयातमा उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले तीन प्रतिशत मात्र धरौटी राख्दा हुने व्यवस्था लागू गरेको हो । त्यसबाहेकको हकमा उद्योगले दुई प्रतिशत र व्यापारिक संस्थाले १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ बमोजिम प्राप्त अधिकार प्रयोग गरी उक्त सूचना जारी गरेको जनाएको छ ।

प्रतीतपत्रसम्बन्धी व्यवस्थामा पनि संशोधन गर्दै नयाँ प्रावधान लागू गरेको छ । विदेशी विनिमय व्यवस्थापन विभागले २४ चैत ०८२ मा जारी गरेको एकीकृत परिपत्र– २०८२ मार्फत आयात, भुक्तानी तथा धरौटीसम्बन्धी प्रक्रियालाई सरलीकृत बनाएको हो ।

प्रतीतपत्र खोलिएको मितिभन्दा अघि ढुवानीकर्ताबाट जारी भएका ढुवानीसम्बन्धी कागजातका आधारमा बैंकहरूले भुक्तानी दिनुपर्ने भएमा आयातकर्ताको स्वघोषणासहित प्रतीतपत्र संशोधन गर्न सकिने व्यवस्था गरिएको छ । तर, भारतबाट हुने आयातका हकमा यस्तो संशोधन आवश्यक नपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, ढुवानी कागजात जारी भएको मितिभन्दा ६० दिनपछि मात्रै बैंकमा प्राप्त भएमा त्यस्ता प्रतीतपत्रहरूको छुट्टै विवरण मासिक रूपमा सम्बन्धित विभागमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

भन्सार महसुलसम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । आयातित वस्तुमा लाग्ने कुल भन्सार महसुल वस्तुको मूल्यको १० प्रतिशतभन्दा कम भएमा सोही अनुपातमा चेक जारी गर्न सकिने र बाँकी रकम धरौटीका रूपमा राख्नुपर्ने प्रावधान ल्याइएको छ । उक्त धरौटी रकम फिर्ता लिनका लागि भन्सार कार्यालयबाट दरपिठ भएको कागजात, प्रज्ञापनपत्रको प्रतिलिपि र राजस्व तिरेको रसिद आवश्यक पर्नेछ । तर, आयातित वस्तु लिलाम बिक्री, नष्ट, दुर्घटना वा चोरीजस्ता कारणले नेपाल भित्रिन नसकेको प्रमाणित भएमा यस्ता कागजातविना पनि धरौटी फिर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

सटही सुविधाअन्तर्गत आयातको समयसीमा पनि सहजीकरण गरिएको छ । आयातकर्ताले सटही सुविधा प्राप्त भएको एक सय २० दिनभित्र सामान आयात गरिसक्नुपर्ने उल्लेख छ । तर, पटक–पटक सटही सुविधा लिइएको अवस्थामा पहिलोपटक सटही लिएको मितिले एक सय २० दिनभित्रै आयात सम्पन्न गर्नुपर्ने प्रावधान छ । यदि काबुबाहिरको परिस्थितिका कारण एक सय २० दिनभित्र आयात गर्न नसकिने अवस्था आएमा आयातकर्ताले औचित्य पुष्टि हुने कारणसहित बैंकमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त कारणप्रति केन्द्रीय बैंक आश्वस्त भएमा केन्द्रीय कार्यालयको विभागीय प्रमुखको स्वीकृतिमा थप समय दिएर आयात गर्न अनुमति दिन सकिने व्यवस्था गरिएको छ ।

सुझावित समाचार