ट्रम्प, इरान युद्ध र राष्ट्रपतीय शक्तिका सीमा

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

युद्ध लामो समयदेखि अमेरिकी राष्ट्रपति शक्तिको अन्तिम परीक्षा र अतिक्रमणका लागि सबैभन्दा खतरनाक क्षेत्र मानिन्छ । शक्ति प्रदर्शनको रूपमा सुरु हुने यो विषय चाँडै जोखिमको स्रोत बन्न सक्छ । त्यो ढाँचा इरानसँग अमेरिकाको चलिरहेको द्वन्द्वमा देखा पर्न थालेको छ, युद्ध कसरी सुरु भयो र अहिले कसरी फैलिरहेको छ भन्ने कुरा हेर्दा थाहा लाग्छ । ह्वाइट हाउसका वर्तमान अतिक्रमणकारीले पनि त्यो वास्तविकताको सामना गरिरहेका हुन सक्छन् । संकेत मान्ने हो भने डोनाल्ड ट्रम्प नवरुढिवादीहरूको समूह र इराक युद्धका शिल्पकारको सल्लाहमा युद्धमा गएका हुन सक्छन् ।

ट्रम्पलाई दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहम र टेक्सासका टेड क्रुजजस्ता युद्ध समर्थकको सल्लाहसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सुझाव थियो । उनले आफ्ना तीनवटै राष्ट्रपति अभियानमा पश्चिम एसियामा अर्को युद्धमा नगर्ने वाचा गरेका थिए । अमेरिकी गुप्तचर समुदायले इरान आणविक हतियार विकास गर्ने अवस्थानजिक नभएको र यदि तेहरानले आक्रमण गरेमा उसले खाडी राज्यलाई लक्षित गर्नेछ र हर्मुजको जलमार्ग बन्द गर्न सक्छ भन्ने स्पष्ट चेतावनीका बाबजुद पनि उनी युद्धमा होमिए । 

त्यो निर्णयको परिणाम अहिले प्रस्ट रूपमा देखिँदै छ । तेलको मूल्य बढेको छ, विश्वव्यापी बजारमा कम्पन आएको छ र अमेरिकामा आर्थिक प्रभाव महसुस गरिँदै छ । बढ्दो ऊर्जा लागत र मुद्रास्फीतिको चिन्ताबिच व्यापार गतिविधि सुस्त भएको छ, जसले द्वन्द्वको व्यापक परिणामलाई प्रतिबिम्बित गर्छ । अझ महŒवपूर्ण, युद्धका लागि समर्थन घट्दै गएको छ । राष्ट्रपति ट्रम्पको अनुमोदन दरमा ह्वात्तै गिरावट आएको छ । अधिकांश अमेरिकीहरूले द्वन्द्व र यसको आर्थिक परिणामलाई अस्वीकार गरिरहेका छन् । राष्ट्रपतिले युद्धमा हात हाल्नु गम्भीर भूल भएको उनीहरूको राय छ ।

ट्रम्प प्रशासनले युद्धको उद्देश्य नै स्पष्ट नगरेको धेरै अमेरिकीहरूलाई लागेको छ । यो कुरामा राष्ट्रपतिको शक्तिले आफ्नो सीमा नाघेको छ– विदेशमा नभई स्वदेशमा । अमेरिकी राष्ट्रपतिलाई देशका जनतालाई युद्धले उनीहरूको भलाइका गर्छ भनेर विश्वस्त पार्नुभन्दा अन्य राष्ट्रलाई घुँडा टेकाउन सजिलो हुन सक्छ । विदेश नीति लागू गर्न सकिन्छ, तर घरेलु वैधता लागू गर्न सकिँदैन । 

युद्ध, विशेषगरी व्यापक सार्वजनिक समर्थनविना गरिएका युद्धले समयसँगै त्यो वैधतालाई क्षय गर्ने प्रवृत्ति राख्छन् । ट्रम्पले इरान द्वन्द्वमा यो निश्चितताका साथ प्रवेश गरेको देखिन्छ कि उनी यसको प्रक्षेपण नियन्त्रण गर्न सक्छन् । तर, युद्धहरू त्यसलई सुरु गर्नेहरूको नियन्त्रणभन्दा बाहिर जान पनि सक्छन् । राष्ट्रपतिहरू यस्ता क्षणमा कसरी आइपुग्छन् भनेर बुझ्न आवश्यक छ । नेताहरूले राष्ट्रपतिको शक्तिको प्रकृतिलाई विचार गर्नुपर्छ ।

प्रायः भनिएको छ कि अमेरिकाका राष्ट्रपति केवल लाक्षणिक रूपमा मात्र नभई शाब्दिक रूपमा पनि एउटा ‘फोका’मा बस्छन् । उनी संस्था, सल्लाहकार र शक्ति संरचनाका तहले घेरिएका हुन्छन् । सबैले उनको ध्यान पाउन प्रतिस्पर्धा गर्छन् र उनको विश्वदृष्टिकोणलाई आकार दिन्छन् । समयसँगै, त्यो वातावरणले अजेयताको भ्रम पैदा गर्न सक्छ । त्यो भ्रमले बारम्बार खराब निर्णय निम्त्याउँछ । 

ट्रम्पमा यो मानसिकता निश्चित रूपमा स्पष्ट देखिन्छ । उनले सधैँ पूर्ण आत्मविश्वासको छवि प्रस्तुत गरेका छन् । यो एक मानसिकता हो, जसले उनलाई राजनीतिमा फाईदा पुर्याएको छ । यसले उनलाई संस्थाहरूलाई ध्वस्त पार्न, विपक्षीलाई पराजित गर्न र उल्लेखनीय गतिमा आफ्नो इच्छा थोप्न अनुमति दिएको छ । दोस्रो कार्यकालमा सुरु गर्दा ट्रम्प आफ्नो शक्तिको शिखरमा पुगेको देखिन्थ्यो । अनुपालन गर्ने कांग्रेस र बफादार राजनीतिक आधारका साथ, उनी अमेरिकी राज्य र विश्वव्यापी व्यवस्थालाई पुनः आकार दिन आक्रामक रूपमा अघि बढे । आप्रवासनमाथिको कारबाहीदेखि विश्वविद्यालयसँगको टकरावसम्म, शुल्क युद्धदेखि विदेशमा नाटकीय हस्तक्षेपसम्म, उनको राष्ट्रपति पदलाई अवरोध र अराजकताले परिभाषित गरिएको छ । 

तर, संयमविना प्रयोग गरिएको शक्ति बिरलै अनुत्तरित नै रहन्छ । यसले आफ्नै हिसाबकिताब माग गर्छ । ट्रम्पका लागि त्यो हिसाबकिताब इरान हुन सक्छ । युद्धजस्ता प्रमुख घटना केवल राष्ट्रपतिको इच्छामा झुक्दैनन् । धेरैजसो, तिनीहरूले राष्ट्रपति पदलाई परिभाषित गर्छन्, राष्ट्रपतिलाई सीमित गर्छन् र कहिलेकाहीँ तिनीहरूको करिअर नै ध्वस्त पारिदिन्छन् । 

तत्कालीन राष्ट्रपति लिन्डन बी जोनसनको शासनकाल भियतनाम युद्धको भारले यति हदसम्म पतन भयो कि उनले पुनः चुनाव लड्न पनि सकेनन् । अफगानिस्तान र इराकमा युद्ध सुरु गर्दा जर्ज डब्लु बुसको अत्यधिक जनसमर्थन थियो । तर द्वन्द्वमा तानिएपछि उनले गहिरो अलोकप्रियताबिच पद छाड्नुपर्यो । 

यसले युद्ध र त्यसप्रति नागरिकको प्रतिक्रियाको वर्तमान अवस्था नयाँ होइन भन्ने देखाउँछ । मानव इतिहासमा थोरै व्यक्तिले आधुनिक अमेरिकी राष्ट्रपतिले जस्तो शक्ति प्रयोग गर्नसके । संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा अतुलनीय सैन्य, राजनीतिक र आर्थिक शक्तिको नेतृत्व गर्दै अमेरिकी राष्ट्रपतिले राष्ट्रहरूको भाग्य परिवर्तन गर्न सक्छन्, विश्वव्यापी संकटलाई आकार दिन सक्छन् र अमेरिकाको सिमानाभन्दा टाढा लाखौँको जीवनलाई असर गर्न सक्छन् । यसका बाबजुद राष्ट्रपतिले आफ्नो कदमको प्रतिक्रियामा के हुन्छ भन्ने कुरामा पूर्ण नियन्त्रण राख्दैनन् । 

इतिहासले देखाउँछ कि राष्ट्रपतिहरूले घटनालाई आकार दिन सक्छन्, तर तिनीहरूले अन्ततः घटनाका लागि आदेश दिन सक्दैनन् । अन्यथा, विश्वास गर्नेहरूले प्रायः पत्ता लगाउँछन् कि शक्तिको सीमा हुन्छ र परिणाम पनि । इरान द्वन्द्वले राष्ट्रपतिको शक्तिको सीमा र ती सीमा पार गर्ने प्रयासको परिणाम प्रकाश पार्न थालेको छ । यो ट्रम्पका लागि गणनाको क्षण साबित हुन सक्छ । समयले बताउनेछ कि अन्तिम परिणाम के हुनेछ र त्यो गणनाको मूल्य कसले तिर्नेछ ।

इरानी सभ्यता नष्ट गरिदिने चेतावनी 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै इरानी सभ्यता नै नष्ट गरिदिने चेतावनी दिएका छन् । ऊर्जा संयन्त्र, पुलहरूलाई निसाना बनाउने चेतावनी दिएको एक दिनपछि ट्रम्पको यस्तो चेतावनी आएको हो । ‘आज राति सम्पूर्ण इरानी सभ्यता नष्ट हुनेछ,’ ट्रम्पले ट्रुथ सोसियलमा लेखे,’ तथापि उनले अगाडि केही संयमता देखाउँदै लेखेको छन्, ‘म त्यस्तो होस् भन्ने चाहन्न, तर यो सम्भवतः हुनेछ ।’ पछिल्लो पोष्टलाई धेरैले ट्रम्पको मापदण्डअनुसार पनि चर्को बयानबाजी बताएका छन् । यसअघि उनले आक्रमण बढाउनेजस्ता चेतावनी मात्र दिने गर्थे । तर, अहिले उनी धेरै अगाडि बढेर एउटा सम्पूर्ण सभ्यता नै नष्ट गर्ने धम्की दिने अवस्थामा पुगेका छन् । इरानको विशाल आकारका आधारमा त्यति ठुलो लक्ष्य हासिल गर्न अविश्वसनीय रूपमा विशाल बमबारी आवश्यक पर्नेछ । ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज खोल्न मंगलबार मध्यराति (नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ )सम्मको समयसीमा तोकेका थिए । सोही समयसीमाभित्र आफ्नो माग पूरा नभएर उक्त विनाश निम्त्याइदिने उनको चेतावनी हो । 

हिन्दुस्तान टाइम्सबाट

फ्य्रांक एफ इस्लाम वासिंटन डिसीस्थित एक उद्यमी र नागरिक नेता हुन् ।

सुझावित समाचार