जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थपको अनुमति दिएको हो।
ओली र लेखकविरुद्ध थप अनुसन्धान गर्ने तथा प्रमाणहरू बुझ्ने काम बाँकी रहेको देखिएकाले अनुसन्धानको प्रयोजनको लागि हिरासतमा राख्न मनासिब देखिँएको अदालतको आदेशमा उल्लेख छ।
जेन–जी आन्दोलनको पहिलो दिन भएको मानवीय क्षतिमा जिम्मेवार मानिएको आरोपमा गरिएको ओली र लेखकको पक्राउ मनासिब भन्दै अदालतले यसअघि पहिलोपटक पाँच दिन थुनामा राख्न अनुमति दिएको थियो।
२३ भदौको आन्दोलनमा उनीहरूकै लापरबाहीका कारण बानेश्वर क्षेत्रमा गोली लागेर मानवीय क्षति भएकाले फौजदारी मुद्दामा कारबाही गर्न गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले सिफारिस गरेको थियो।
