सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ।
तथ्यांकअनुसार मार्चमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्। जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन्। श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट चार हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
अन्य एसियाली मुलुकमध्ये चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट तीन हजार ८९७ पर्यटक नेपाल आएका छन्। समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ (२७.७ प्रतिशत) पर्यटक भित्रिएका बोर्डले जनाएको छ।
युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ। पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ। यद्यपि, एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ।
सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड– १९ सुरु हुनुअघि सोही महिनामा एक लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ। सन् २०२६ को फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ पर्यटक भित्रिएका थिए।