रासायनिक मलको आपूर्ति बढाउन कृषिमन्त्री चौधरीको पहल

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले रासायिनक मलको आपूर्तिमा समस्या हुन नदिन पहल थालेकी छिन् । उनले मन्त्रीको पदभार गरेको भोलिपल्टै शनिबार कुलेश्वरस्थित कृषि सामग्री कम्पनी लिमिटेड पुगेर रासायनिक मलको आपूर्ति र वितरणबारे जानकारी लिएकी छिन् । उनलाई कृषिसचिव डा. राजेन्द्र मिश्र र कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले ब्रिफिङ गरेका थिए ।

मन्त्री चौधरीले मागेजति मल नपाउँदा किसान पीडित भइरहकोले यसपालि समयमै आपूर्ति सुनिश्चित गर्न पहल लिनुपर्ने बताइन् । ‘मल नपाउने समस्या जहिले पनि देखिने गरेको छ । त्यसैले यसपालि त्यस्तो समस्या आउन नदिन अहिलेबाटै पहल थालिएको हो,’ उनले भनिन् । कुलेश्वरस्थित केन्द्रीय गोदाममा रहेको मल परिमाणबारे पनि उनले स्थलगत निरीक्षण गरेर जानकारी लिइकी थिइन् ।

ब्रिफिङका क्रममा कृषि कम्पनीका प्रबन्ध सञ्चालक पोखरेले मध्यपूर्वको तनावका कारण रासायनिक मल आपूर्तिमा केही असहजता आउन सक्ने देखिएको बताएका थिए । उनले चीनबाट मल आपूर्ति रोकिएको र अन्य देशबाट ल्याउन पनि सामुद्रिक मार्गमा अवरोध भइरहेको जानकारी गराएका थिए । मन्त्री चौधरीले टेन्डर भएको मल ल्याउनेबारे सबै सरकारी संयन्त्र परिचालन गर्नेबारे पहलकदमी लिने बताइन् । रासायनिक मलको आपूर्ति बढाउन बर्सेनि कठिनाइ भइहरेको कुरालाई ध्यान दिएर किसानले पनि अर्गानिक उत्पादनमा जोड दिनुपर्ने उनको सुझाव छ । ‘भइरहेको खेतीपातीलाई जति मल चाहिन्छ, त्यो दिने कुरामा सरकार प्रतिबद्ध छ, तर अर्गानिक उत्पादनलाई पनि प्राथमिकतामा राखिने भएकाले किसानले पनि त्यसतर्फ ध्यान दिनु जरुरी छ,’ उनले भनिन् ।

कृषि सामग्रीका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आर्थिक वर्षको बजेट र अहिलेको बजेटमा कति मल किन्न सकिन्छ र कति किनेका छौँ भन्नेलगायतका विषयमा मन्त्रीलाई ब्रिफिङ गराएको बताए । ‘हामीसँग अहिले जति मल छ, त्यसले असारसम्म पुग्छ भन्ने अनुमान छ । भारतबाट थप आयातको पनि पहल भइरहेको छ, यद्यपि भारत आफैं पनि समस्यामा छ । मल अभाव नहुने गरी सोमबार थप छलफल गर्ने योजनामा छौँ,’ उनले भने । कृषि मन्त्रालयका अनुसार सरकारी गोदाममा अहिले एक लाख १८ हजार टन रासायनिक मल मौज्दात रहेको छ । यसमध्ये ७७ हजार सात सय १७ टन युरिया र २५ हजार पाँच सय आठ टन डिएपी रहेको छ । त्यस्तै, १५ हजार एक सय ३० टन पोटास र ६ सय १३ टन कृषि चुन मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

कृषिसचिव डा. राजेन्द्र मिश्रका अनुसार किसानले मागेजति मल दिनका लागि देशभर १३ लाख मेट्रिकटन मल आवश्यक देखिएको बताएका छन् । तर, कडाइ गरेर वितरण गर्ने हो भने पनि सबै बालीका लागि वार्षिक आठ लाख मल चाहिने प्रक्षेपण भएको उनले बताए । तर, सरकारले अुनदानबापत मुस्किलले पाँच लाख टन मात्रै आपूर्ति गर्दै आएको छ । सचिव मिश्रले अन्तर्राष्ट्रिय बजारभाउ ठुलो अन्तरले बढिरहेका कारण पनि योजनाअनुसार मल ल्याउन नसकिएको बताए ।

गत आर्थिक वर्ष ०८१/८२ मा करिब ६ लाख टन मल खरिदका लागि योजना बनाइएको, तर भाउ बढेका कारण चार लाख ८० हजार टन मात्रै ल्याइएको उनले जानकारी गराए । त्यस्तै, अहिले पनि मध्यपूर्व तनावका कारण रासायनिक मलको मूल्य बढिरहेको उनले बताए ।

१५ मंसिरमा युरियाको मूल्य अन्तर्राष्ट्रिय बजारमा तीन सय ५१ डलरप्रति टन रहेको थियो । तर, शुक्रबार साँझसम्म आइपुग्दा करिब दोब्बर अर्थात् ६ सय ८४ डलर प्रतिटन कायम भएको छ ।

सुझावित समाचार