- गत आर्थिक वर्ष ०८१/८२ को आठ महिनामा १२ अर्ब १७ करोड पुँजीगत लाभकर उठेकोमा यसपालि साढे ६ अर्ब मात्रै संकलन
चालू आर्थिक वर्ष ०८२/८३ को आठ महिनामा सेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर ४७ प्रतिशतले घटेको छ । गत आवको पहिलो आठ महिनामा सेयर कारोबारबाट १२ अर्ब १७ करोड १३ लाख ९८ हजार पुँजीगत लाभकर उठेको थियो । तर, चालू आवको सोही अवधिमा ६ अर्ब ४४ करोड १० लाख चार हजार मात्रै राजस्व उठेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांकले देखाएको छ ।
गत आवभर भने सरकारले पुँजीगत लाभकरमार्फत १६ अर्ब ५४ करोड ३७ लाख राजस्व संकलन गरेको थियो । तर, चालू आवमा कारोबार कमजोर हुँदा सेयर बजारबाट उठ्ने पुँजीगत लाभकर संकलन न्यून हुने राजस्वका अधिकारीहरूको अनुमान छ । चालू आवको समीक्षा अवधिमा सेयर बजारमा देखिएको अस्थिरताले पुँजीगत लाभकरमा असर पुर्याएको छ । खासगरी २३ र २४ को जेन–जी आन्दोलनपछि सेयर लगानीकर्तामा उत्साह बढ्न सकेको छैन । त्यसैले सेयर बजारमा उतारचढाव देखियो । लगानीकर्ताले सेयर खरिद–बिक्री गरेर कमाउने नाफा पनि प्रभावित भएको छ । फलस्वरूप सेयर कारोबारबाट उठ्ने करमा प्रत्यक्ष असर पुगेको होे । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले लगानीकर्ताले कमाउने नाफा घटेपछि कर संकलन पनि स्वत: प्रभावित हुने बताउँछन् ।
सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ पाँच प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा पाँच प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा भने ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने गरेको छ ।
कुन महिना कति उठ्यो पुँजीगत लाभकर ?
तथ्यांकअनुसार चालू आवको साउन महिनामा दुई अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । त्यसैगरी, भदौमा ६० करोड १४ लाख ९९ हजार रुपैयाँ, असोजमा २४ करोड ३६ लाख ५६ हजार रुपैयाँ र कात्तिकमा ३८ करोड पाँच लाख ९९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । यसैगरी, मंसिरमा ६२ करोड ९८ लाख २० हजार रुपैयाँ, पुसमा ५८ करोड ४३ लाख ५७ हजार रुपैयाँ र माघमा एक अर्ब २९ करोड १९ लाख २० हजार रुपैयाँ पुँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ । अहिले फागुनमा ५५ करोड १५ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।
गत आवको साउनमा चार अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । यसैगरी, गत आवको मंसिरमा एक अर्ब चार करोड ६ लाख २३ हजार रुपैयाँ, पुसमा ५८ करोड सात लाख ८५ हजार रुपैयाँ र माघमा एक अर्ब पाँच करोड ७० लाख ८८ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।