- चौधरी ग्रुपको अगुवाइमा ‘द रिट्ज–कार्लटन’को ठमेलमा शिलान्यास, तीन वर्षपछि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको होटेलमा एक सय ५० लक्जरी रुमसहित ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनोसमेत रहने
- शुक्रबार भूमिपूजन गरेका सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘आजको यो पहल केवल परियोजना उद्घाटनका लागि मात्र होइन, यो युवा सोच, युवा उद्यमीहरूको पहल हो । यो परियोजना नेपालका नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो ।’
चौधरी ग्रुपको अगुवाइमा विश्वप्रसिद्ध होटेल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’को ठमेलमा निर्माण सुरु गरिएको छ । होटेल क्षेत्रमा गरिएको सबैभन्दा ठुलो लगानीमध्ये यो एक हो ।
सन् १९८३ मा स्थापित रिट्ज–कार्लटन ब्रान्डले ३० देशमा एक सय आठभन्दा बढी होटेल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी हस्पिटालिटी ग्लोबलले रवीन्द्र श्रेष्ठ (आई जे ग्रुप), सौरभ शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँगको साझेदारी होटेल निर्माण अघि बढाएको हो ।
होटेलको शुक्रबार भूमि पूजन गरेर निर्माण अघि बढाएको चौधरी ग्रुपले विज्ञप्तिमार्फत जनाएको छ । होटेलमा एक सय ५० लक्जरी रुमसहित अल्ट्रा लक्जरी होटेल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनोसमेत रहनेछ ।
नौ रोपनी जग्गामा निर्माण सुरु भएको होटेलको अनुमानित लागत करिब एक सय मिलियन अमेरिकी डलर रहेको छ । परियोजना सन् २०२९ को मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ । होटेलको एक रातको ‘रुम रेट’ एक हजार डलरभन्दा बढी रहने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
यो परियोजनामार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवद्र्धनको लक्ष्यप्रति प्रतिबद्धता देखाएको सिजी हस्पिटालिटीले जनाएको छ । परियोजनाले रोजगारी सिर्जना, लगानी आकर्षण र विकासलाई अर्को स्तरमा लैजान केन्द्रित रहने लगानीकर्ताको अपेक्षा रहेको विज्ञप्तिमा जनाइएको छ ।
सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीले रिट्ज–कार्लटनको प्रवेशले चौधरी ग्रुपको नेपालको पर्यटन क्षेत्रमा विश्वस्तरीय योगदान पुर्याउने प्रतिबद्धतालाई पुष्टि गरेको बताएका छन् ।
‘आजको यो पहल केवल परियोजना उद्घाटनका लागि मात्र होइन, यो युवा सोच, युवा उद्यमीहरूको पहल हो । जसले विश्वस्तरीय पर्यटन नेपालमा स्थापित गर्न चाहन्छन् । यो परियोजना नेपालका नयाँ प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति हाम्रो समर्थन र विश्वासको प्रतीक पनि हो,’ उनले भनेका छन्, ‘यस परियोजनामार्फत हामी रोजगार सिर्जना, उच्चस्तरीय पर्यटन प्रवद्र्धन र आर्थिक वृद्धि बढाउने राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउनमा केन्द्रित छौँ ।’