हेटौँडा यातायात कार्यालयका अधिकृतसहित दुईविरुद्ध मुद्दा दर्ता

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडामा कार्यरत अधिकृत छैटौँ अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सवारीसाधनको सरुवा सहमति मिलाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध बिहीबार काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यसअघि हेटौँडास्थित अख्तियारको टोलीले फागुन १३ गते सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा लेखापढी व्यवसायी पौडेललाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा अधिकृत भेटुवाललाई समेत नियन्त्रणमा लिइएको थियो । दुवैजना हालसम्म अख्तियारकै नियन्त्रणमा रहेका छन् ।

अनुसन्धानका क्रममा भेटुवाल र पौडेलबिच आपसी मिलेमतो तथा पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको आयोगको दाबी छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी सोहीबराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

सुझावित समाचार