सुखद छैन जलवायुसम्बन्धी विश्वव्यापी प्रतिवेदन

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

हाम्रो ग्रहको तापक्रम निरन्तर बढ्दै छ । हामीले हालै रेकर्ड गरिएका ११ सबैभन्दा ताता वर्षहरूको अनुभव गरेका छौँ । सन् २०२५ विश्व इतिहासकै दोस्रो वा तेस्रो सबैभन्दा तातो वर्ष हो । विश्व मौसम विज्ञान संगठनद्वारा सोमबार प्रकाशित वार्षिक जलवायु अवस्था प्रतिवेदनले हामी अझै पनि जीवाश्म इन्धनमा धेरै निर्भर रहेको संकेत दिन्छ । र, यसले हामीलाई ‘डिकार्बोनाइज’को लक्ष्यबाट टाढा पुर्याइरहेको छ । चार जलवायु परिवर्तन सूचकको लेन्समार्फत २०२५ लाई फर्केर हेरौँ ।

कार्बनडाइअक्साइड :  हामीसँग अहिले वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा कीर्तिमानी स्तरमा छ, जुन पूर्वऔद्योगिकस्तरभन्दा लगभग ५० प्रतिशत बढी छ । हामी अझै पनि जीवाश्म इन्धनको प्रयोगमार्फत ठुलो मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन गरिरहेका छौँ । २०२५ मा विश्वव्यापी उत्सर्जन रेकर्ड उच्चस्तरमा पुग्यो । हामीले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड लामो समयसम्म वायुमण्डलमा रहन सक्छ । 

बढ्दो तापक्रम :  २०२५ मा विश्वले रेकर्डमा दोस्रो वा तेस्रो सबैभन्दा तातो वर्ष अनुभव गर्यो । औसत तापक्रम पूर्वऔद्योगिक औसतभन्दा लगभग १.४३ डिग्री सेल्सियस माथि थियो । हामीले प्रशान्त क्षेत्रमा हल्का ‘ला निना’ गतिविधि अवलोकन गरेकाले यो विशेषगरी असामान्य छ । ला निना एक प्रकारको जलवायु ढाँचा हो, जुन प्रशान्त महासागरमा तापक्रम परिवर्तनले उत्पन्न हुन्छ । यसले सामान्यतया अस्ट्रेलियामा हल्का, ओसिलो अवस्था सिर्जना गर्छ र विश्वव्यापी औसत तापक्रममा शीतल प्रभाव पार्छ । 

जलवायुसम्बन्धी प्रतिवेदनले हामीले हाम्रो जलवायु कति छिटो परिवर्तन गर्दै छौँ भन्ने तथ्य देखाएको छ

समुद्र र बरफ :  २०२५ मा विश्वका महासागरभित्र रहेको तापक्रम कीर्तिमानी तहमा पुग्यो । हाम्रा महासागर तात्दै जाँदा समुद्रको सतह पनि बढ्नेछ । तातो महासागरले अम्लीयकरणलाई पनि गति दिन्छ, जहाँ कार्बन डाइअक्साइडको बढ्दो मात्रा अवशोषित हुन्छ । जसले गर्दा केही समुद्री जनावरका लागि सम्भावित विनाशकारी परिणाम हुन्छन् । आर्कटिक र अन्टार्कटिक बरफको मात्रा पनि औसतभन्दा धेरै कम छ । त्यस्तै, हिमनदीमा बरफको मात्रा पनि उल्लेखनीय रूपमा घटेको छ ।

चरम मौसम :  अनुसन्धानले देखाउँछ कि २०२५ का धेरै विनाशकारी चरम मौसमी घटना मानव–सञ्चालित जलवायु परिवर्तनले बढाएको थियो । मध्यएसियामा गर्मीको लहर, पूर्वीएसियामा डढेलो र क्यारिबियनमा मेलिसा आँधी तीन उदाहरण मात्र हुन् । ‘एट्रिब्युसन’ विश्लेषणले हाम्रो हरितगृह ग्यास उत्सर्जनले गम्भीर मौसमी घटनालाई कसरी सामान्य र तीव्र बनाइरहेको छ भनेर प्रकाश पार्छ ।

अस्ट्रेलिया कसरी अघि बढ्दै छ  ः अन्य देशको तुलनामा अस्ट्रेलियाले विश्वव्यापी जलवायुमा असमान प्रभाव पार्छ । यो मुख्यतया हाम्रो प्रतिव्यक्ति कार्बन डाइअक्साइड उत्सर्जन विश्वव्यापी औसतको लगभग तीन गुणा बढी भएकाले भएको हो । औसतमा हामी प्रत्येकले सबै युरोपेली देश र अमेरिकीले भन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्छौं । उत्सर्जनले हरितगृह प्रभावलाई बढावा दिन्छ । उत्सर्जन त्यो प्रक्रिया हो, जसद्वारा कार्बनडाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्यासले पृथ्वीको सतहनजिकै तापलाई फसाउँछन् । त्यसैले, बढी हरितगृह ग्यास उत्सर्जन गरेर हामी विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पु¥याउँदै छौँ । अनुसन्धानले पृथ्वी अघिल्ला दशकको तुलनामा दोब्बर छिटो न्यानो भइरहेको सुझाएको छ । 

२०२५ मा हामीले रेकर्डमा चौथो सबैभन्दा तातो वर्ष बितायौँ । अस्ट्रेलियावरपरका समुद्रको वार्षिक सतहको तापक्रम ऐतिहासिक रूपमा उच्चतमस्तरमा पुग्यो, जसले २०२४ मा स्थापित रेकर्ड तापक्रमलाई पनि उछिन्यो । र, गत मार्च हामीले महादेशभरि देखेको सबैभन्दा तातो महिना थियो । यहाँ अस्ट्रेलियामा हामी लामो र तातो गर्मीको लहर र डढेलोसँग पनि लडिरहेका छौँ । 

हामीले गर्नुपर्ने काम : २०२५ को जलवायु अवस्था प्रतिवेदनले हामीले हाम्रो जलवायु कति छिटो परिवर्तन गर्दै छौँ भनेर देखाउँछ । र, यो चिन्ताजनक रूपमा अघिल्ला प्रतिवेदनसँग मिल्दोजुल्दो छ, जसले तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई प्रकाश पार्छ । प्राथमिकता हाम्रो उत्सर्जन घटाउनु हुनुपर्छ । यसले विश्वव्यापी तापक्रम घटाउनेछ, जुन हामीले यथास्थिति कायम राख्यौँ भने मात्र जारी रहनेछ । केही देशले पहिल्यै द्रुत गतिमा कार्बन उत्सर्जन घटाइरहेका छन् । आंशिक रूपमा नवीकरणीय बिजुली आपूर्तिमा संक्रमणमार्फत यस्तो उत्सर्जन घटाइरहेका छन् । अस्ट्रेलियासहित अन्यले उत्सर्जन घटाउन धेरै छिटो कदम चाल्नु आवश्यक छ ।

हामीले हाम्रो ‘नेट जिरो’ लक्ष्य पनि पूरा गर्नुपर्छ । अन्य धेरै देशमा जस्तै अस्ट्रेलियामा पनि हामीले २०५० सम्ममा नेट जिरोमा पुग्ने लक्ष्य राखेका छौँ । हामी जति चाँडो नेट जिरोमा पुग्छौँ, भविष्यमा हानिकारक जलवायु परिवर्तनको प्रभावबाट बच्ने सम्भावना त्यति नै बढी हुन्छ । नेट जिरो प्राप्त गर्न वायुमण्डलबाट कार्बन हटाउने मात्रा बढाउनुका साथै हाम्रो उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनु आवश्यक छ । जीवाश्म इन्धनबाट टाढा रहेर र अहिले हरितगृह ग्यास उत्सर्जन घटाएर हामी भावी पुस्तालाई यसको सबैभन्दा खराब प्रभावबाट बचाउन सक्छौँ ।

(किङ जलवायु विज्ञानका सहप्राध्यापक हुन्)द कन्भर्सेसनबाट

सुझावित समाचार