नेकपा(एमाले)लाई बचाएर फेरि शक्तिशाली बनाउन नेता सुरेन्द्र पाण्डेले भविष्यमा लगानी गर्न सुझाव दिएका छन्। पार्टीलाई अब विज्ञता र प्रविधिसहितको गतिशील संस्था बनाउनुपर्नेमा उनको जोड छ।
तत्काल तीन काम गरे फेरि पार्टी उदाउन सक्ने उनको निचोड छ। विज्ञतामा आधारित राजनीति, डिजिटल मेरिटोक्रेसी र संरचित पुनर्संरचनामा लागे मात्र पार्टी बताउन सकिने उनले लेखेका छन्।
उनले फेसबुकमा लेखेका छन्–
के अब एमाले पहिलेकै लयमा फर्किन्छ ? मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ। तर, यसका लागि हामीले ’इतिहासको ब्याज’मा होइन, ’भविष्यको लगानी’मा ध्यान दिनुपर्छ। अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ’विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ।
पहिलो, विज्ञतामा आधारित राजनीतिः अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ’प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ।
दोस्रो, डिजिटल मेरिटोक्रेसीः व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ’इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्।
तेस्रो, संरचित पुस्तान्तरणः नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ’को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ।