विदेशमा रहेका नेपालीलाई ग्लोबल आइएमईले २४सै घण्टा सेवा दिने

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोवास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । सोहीअनुसार बैंकले नन रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना गरी औपचारिक सुरुवात गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको उद्घाटन गरेका हुन् । 

नेपालमै पहिलोपटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका ग्राहकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्नेछ ।  बैंकको यस विभागबाट बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङसम्बन्धी सेवा, पुँजी बजार तथा पोर्टफोलियो व्यवस्थापनलगायतका सेवा उपलब्ध हुने बताइएको छ । बैंकका अनुसार ग्राहकलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा विभागको कार्यालयमार्फत सेवा उपलब्ध गराइनेछ । सेवा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी ग्राहकलाई २४सै घण्टा सेवा प्रदान गर्नेछ ।  विदेशमा रहेका ग्राहकले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोधविना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ छ ।

विभागको औपचारिक उद्घाटन गर्दै अध्यक्ष ढकालले बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए । ‘यस नन–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत बैंकले विदेशमा रहेका नेपाली नागरिकलाई उहाँहरूको आवश्यकताअनुरूप पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रुत र पारदर्शी रूपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्नेे यो हाम्रो महŒवपूर्ण प्रयास हो,’ उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोवास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए । 

सुझावित समाचार