अहिले काठमाडौंलगायत क्षेत्रमा देखिएको उच्च वायु प्रदूषणले के–कस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ ?
अहिले सबैभन्दा बढी आँखाको समस्या देखिएको छ । आँखाको बाहिरी पत्र ‘कन्जक्टिभा’मा धेरै संक्रमण देखिएको छ । धेरैमा आँखा सुक्खा हुने र आँसु बढी आउने समस्या पनि देखिएको छ । आँखाबाहेक छालामा पनि समस्या देखिएको छ । विशेषत: संवेदनशील छाला भएकालाई बढी चिलाउने, केही अवस्थामा रातो फोका आउने देखिएको छ । पहिलेदेखि छालामा समस्या भएका बिरामीले विशेष ध्यान दिनुपर्छ । त्यस्तै, शरीरले ताप नियमन गर्ने प्रणालीमा असर पर्न सक्ने भएकाले चिडचिड बढ्ने, एकाग्र कम हुने समस्या पनि देखिन्छ । त्यसबाहेक श्वासप्रश्वासमा पनि समस्या देखिएको छ । बाह्य रूपमा नाकको संक्रमण हुनेदेखि श्वासनलीको भित्री भागमा पनि असर गर्न सक्छ । यसले खोकी, पिनास, एलर्जीजस्ता समस्या देखिएका छन् । यसका कारण धेरैलाई अहिले ज्वरो देखिइरहेको छ । समस्या बढ्दै गए निमोनिया हुनेजस्ता समस्या आउन सक्छ ।
कुन समूह बढी जोखिममा देखिन्छन् ?
विशेषत: ६ वर्षमुनिका बालबच्चा, कलेजो रोगी तथा मधुमेय नियन्त्रणमा नभएका बिरामी तथा दमरोगी जोखिममा छन् । त्यसबाहेक अन्य दीर्घरोगी र किमोथेरापी गराइरहेकाहरू पनि होसियार हुनुपर्छ ।
तत्काल राहतका लागि के गर्दा ठिक हुन्छ ?
मुख्यत: प्रदूषण नघटेसम्म घरबाहिर कम निस्कने, निस्कनै परे मास्क र चस्मा लगाउने, पानी खाइरहने गर्नुपर्छ । यसले जोखिम आधा घटाउन सक्छ । यी सावधानीका बाबजुद ज्वरो आयो र त्यो बढ्दै गयो भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।