२१ फागुनको निर्वाचनमा अधिकांश उम्मेदवार आधा मतगणना हुँदै जित्नेमा ढुक्क हुने स्थिति बन्यो । कतिपय निर्वाचन क्षेत्रमा नतिजा एकपक्षीय देखियो । भारी मतान्तरले जित–हार भयो । तर, कतिपय क्षेत्रमा निर्वाचन निकै रोचक बन्यो । एकले अर्कालाई उछिन्ने क्रम अन्तिमसम्म चलिरह्यो । यसपटकको निर्वाचनमा पाँचदेखि एक हजारभन्दा कम मतान्तरमा १४ क्षेत्रमा जितहार भएको छ । जसमा रास्वपाका चार, कांग्रेसका ६, एमाले र नेकपाका दुई–दुई उम्मेदवार एक हजारभन्दा कम मतान्तरमा विजयी भएका छन् ।
सबैभन्दा धेरै मतान्तरले जित्ने अधिकांश उम्मेदवार रास्वपाका छन् भने सबैभन्दा थेरै मतान्तरले जित्ने उम्मेदवार पनि रास्वपाकै बनेका छन् । ओखलढुंगाबाट रास्वपाका विश्वराज पोखरेल जम्मा पाँच मतले विजयी भए । पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए । यो निर्वाचनमा सबैभन्दा कम मतान्तर नै यही हो । विश्वराजसहित रास्वपाका चार उम्मेदवार एक हजारभन्दा कम मतान्तरमा विजयी भएका छन् ।
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थीले एमालेका गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गरेका छन् । पन्थी १६ हजार ९६७ मतले विजयी हुँदा विष्टले १६ हजार ४०६ मत ल्याए । बागलुङ २ मा रास्वपाकै सोम शर्मा ७७९ मतान्तरले विजयी भएका छन् । शर्माले कांग्रेसका टेकराज पौडेललाई पराजित गरेका हुन् । शर्मा १२ हजार ६४७ मतसहित विजयी हुँदा पौडेलले ११ हजार ८६८ मत ल्याए । सिन्धुली १ मा रास्वपाकै धनेन्द्र कार्की ८०० मतान्तरले विजयी भएका छन् । कार्कीले एमालेका प्रदीप कटुवाललाई पराजित गरे । कार्की १६ हजार ६५९ मतले विजयी हुँदा कटुवालले १५ हजार ८५९ मत ल्याए ।
कांग्रेसका ६ उम्मेदवार एक हजारभन्दा कम मतान्तरले निर्वाचित भएका छन् । अछाम १ मा कांग्रेसका भरतकुमार स्वाँर ५२६ मतान्तरले विजयी भए । स्वाँरले नेकपाका भीम रावललाई पराजित गरेका हुन् । स्वाँर १० हजार ७५९ मतले विजयी हुँदा रावलले १० हजार २३३ मत ल्याए । बाजुरामा कांग्रेसका जनकराज गिरी ५४० मतान्तरले विजयी भए । गिरीले एमालेका लालबहादुर थापालाई पराजित गरेका हुन् । गिरीले १७ हजार १७३ मत ल्याउँदा थापा १६ हजार ६३३ मतमा रोकिए ।
दैलेख १ मा कांग्रेसकै बासना थापा ५७६ मतान्तरले विजयी भइन् । उनी प्रत्यक्ष निर्वाचन जित्ने कांग्रेसकी एक्ली महिला हुन् । थापा १२ हजार ३७२ मत ल्याई विजयी हुँदा एमालेका रवीन्द्रराज शर्मा ११ हजार ७९६ मतमा रोकिए ।
डोटीमा कांग्रेसका भरतबहादुर खड्का ७८७ मतान्तरले विजयी भए । खड्काले १४ हजार ८९७ मत ल्याउँदा एमालेका दीपकबहादुर धामी १४ हजार ११० मतमा रोकिए । तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा ८७९ मतान्तरले विजयी भए । सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी हुँदा एमालेका भानुभक्त ढकाल १० हजार ६८२ मतमा रोकिए । इलाम १ मा कांग्रेसका निश्कल राई ९११ मतान्तरले विजयी भए । राई १४ हजार ५४३ मतले विजयी हुँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू १३ हजार ६३२ मतमा रोकिए ।
एमालेले दुई क्षेत्रमा एक हजारभन्दा कम मतान्तरले जितेको छ । अछाम २ मा एमालेका यज्ञबहादुर बोगटी ४७२ मतान्तरले विजयी भए । बोगटी नौ हजार ५१८ मतसहित विजयी हुँदा कांग्रेसका पुष्पबहादुर शाह नौ हजार ४६ मतमा रोकिए ।
संखुवासभामा एमालेका अर्जुनकुमार कार्की ६३६ मतान्तरले विजयी भएका छन् । कार्की १५ हजार ६३६ मतसहित विजयी हुँदा रास्वपाका मिङमा शेर्पा १५ हजार मतमा रोकिए ।
नेकपाले पनि दुई क्षेत्रमा हजारभन्दा कम मतान्तरले जितेको छ । धनुषा १ मा नेकपाका मातृका यादव ९४३ मतान्तरसहित विजयी भए । यादव १० हजार ४२८ मतसहित विजयी हुँदा कांग्रेसका रामपल्टन साह नौ हजार ४८५ मतमा रोकिए । कालीकोटमा नेकपाकै महेन्द्रबहादुर शाही ९८६ मतान्तरसहित विजयी भए । शाही ११ हजार ३३८ मतसहित विजयी हुँदा एमालेका नगिन्द्र शाही १० हजार ३५२ मतमा सीमित भए ।