मध्यपूर्वमा जारी तनावका कारण त्यहाँका मुलुकहरूले आ–आफ्नो एयर स्पेस (आकाशमार्ग) बन्द गरेकाले नेपालका उडानहरू नियमित रूपमा रद्द हुन थालेका छन् । १६ फागुनदेखि मध्यपूर्वका विभिन्न देशहरूले अल्पकालीन रूपमा आफ्ना एयर स्पेस बन्द गरेका थिए । खासगरी इरानद्वारा यी देशहरूमा आक्रमण सुरु भएकाले सुरक्षा व्यवस्था कडा बनाउने उद्देश्यले एयर स्पेस बन्द गरिएको थियो । मध्यपूर्वी देशहरूसँग नेपालतर्फ र यहाँका विमानस्थलबाट हुने उडानहरू नियमित रूपमा रद्द हुँदै आएका छन् । शनिबार पनि नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले आफ्नो उडान रद्द गरेको छ ।
वायुसेवा निगमले आइतबार काठमाडौंबाट दुबईतर्फ (आरए २२९) हुने तय भएको उडान र दुबईबाट काठमाडौंतर्फ (आरए २३०) को उडान रद्द गरेको हो । निगमले सार्वजनिक रूपमा सूचना जारी गर्दै भनेको छ, ‘यस परिस्थितिबाट यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ । नेपाल वायुसेवा निगमको मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्नुहुनसमेत अनुरोध गरिन्छ ।’ त्यस्तै, हिमालयन एयरलाइन्सले पनि दुबई र दमामका सबै उडान रद्द गरिएको जानकारी दिएको छ ।
कतार एयरवेजले सीमित उडान सञ्चालन गर्ने
कतारको हवाई क्षेत्र बन्द गरिएपछि अस्थायी रूपमा रोकिएको नियमित उडान सेवा अझै स्थगित नै रहने भएको छ । कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र पूर्ण रूपमा सुरक्षित भई पुन: सञ्चालन गर्न सकिने घोषणा गरेपछि मात्रै नियमित उडान सेवा पुन: सुरु गरिने कम्पनीले जनाएको छ ।
यसैबिच सुरक्षित उडान मार्गका लागि अस्थायी अनुमति दिएपछि कतार एयरवेजले ८ मार्चमा केही सीमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । ती उडानहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहातर्फ हुनेछन् । यी उडानहरू दोहालाई अन्तिम गन्तव्य बनाएका यात्रुका लागि मात्र उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ । टिकट बुकिङका लागि यात्रुहरूले कतार एयरवेजको वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत व्यवस्था गर्न सक्ने बताएको छ ।