- अमेरिका—इजरायलले इरानमाथिको हमला र खाडी देशमा तेहरानको प्रत्याक्रमणपछि तेलको मूल्यमा भएको वृद्धिले चीन, भारत र धेरै दक्षिणपूर्वी एसियाली देशहरूलाई गर्नेछ असर
शनिबार इरानमाथि अमेरिका–इजरायली आक्रमणपछि तेहरानले तीव्र प्रतिशोधात्मक प्रत्याक्रमण गर्दै आएको छ । इरानले चार दिनदेखि इजरायल, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, जोर्डन, साउदी अरेबिया, इराक र ओमानलगायत मध्यपूर्वका धेरै देशहरूमा रहेका अमेरिकी आधारलाई लक्षित गरेको छ । इरानी अधिकारीहरूले विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक होर्मुजको जलडमरु (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने संकेत गरेपछि विश्लेषकहरूले विश्वव्यापी तेलको मूल्यमा वृद्धि हुने चेतावनी दिइरहेका छन् ।
युरोपेली संघका एक अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार जलडमरु पार गर्ने जहाजहरूले इरानको विशिष्ट इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरसिजी)बाट ‘कुनै पनि अनुमति छैन’ भन्ने सन्देश प्राप्त गरिरहेका छन् । यद्यपि, इरानले आधिकारिक रूपमा जलडमरु बन्द गरिनसकेको इयू अधिकारीको भनाइ छ । तर, अधिकांश ट्यांकर मालिकहरूले जारी द्वन्द्वको बिचमा जलडमरुबाट तेल र ग्यास ढुवानी स्थगित गरेका छन् ।
‘हाम्रा जहाजहरू धेरै दिनसम्म रोकिनेछन्,’ एक प्रमुख व्यापारिक डेस्कका एक शीर्ष कार्यकारीको भनाइ उद्दृत गर्दै रोयटर्सले लेखेको छ । ग्रिसजस्ता देशहरूले पनि आफ्ना जहाजहरूलाई जलमार्गबाट पारवहन नगर्न सुझाएका छन् । यो महत्वपूर्ण समुद्री मार्गमा कुनै पनि अस्थिरताले विश्वव्यापी आर्थिक स्थिरतालाई खलबल्याउन सक्छ । त्यसोभए हर्मुज जलडमरु के हो ? र, यो बन्द हुँदा तेलको मूल्यलाई कसरी असर गर्नेछ ?
कहाँ पर्छ स्ट्रेट अफ होर्मुज ?
स्ट्रेट अफ होर्मुज एकातिर ओमान र युएई र अर्कोतिर इरानको बिचमा पर्ने महत्वपूर्ण पारवहनमार्ग हो । यसले अरबी खाडीलाई ओमानको खाडी र त्यसभन्दा पर अरब सागरसँग जोड्छ । यो यसको सबैभन्दा साँघुरो विन्दुमा ३३ किलोमिटर (२१ माइल) चौडा छ, दुवै दिशामा ढुवानी लेन केवल तीन किलोमिटर (दुई माइल) चौडा छ, जसका कारण आक्रमणको जोखिममा छ । साँघुरो चौडाइको बाबजुद यो पारवहन मार्गले विश्वको सबैभन्दा ठुलो कच्चा तेलवाहकहरूलाई समायोजन गर्दछ । मध्यपूर्वका प्रमुख तेल र ग्यास निर्यातकर्ताहरू अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न र आयातकर्ता राष्ट्र यही मार्गमा निर्भर छन् ।
यो पारवहन मार्ग भएर कति तेल र ग्यास बाहिर जान्छ ?
अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए)का अनुसार २०२४ मा हरेक दिन लगभग ५०० अर्ब डलरबराबरको लगभग २० मिलियन ब्यारेल तेल (वार्षिक विश्वव्यापी ऊर्जा व्यापारमा ) स्ट्रेट अफ होर्मुज हुँदै पारवहन भएको थियो । यहाँबाट पारवाहन हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया र युएईबाट आउँछ । तरल प्राकृतिक ग्यास (एलएनजी) व्यापारमा पनि यो मार्गले महत्वपूर्ण भूमिका खेल्छ । इआइएका अनुसार, २०२४ मा, विश्वव्यापी एलएनजी ढुवानीको पाँच भागको एक भाग यस करिडोरबाट सरेको थियो, जसमध्ये कतारले ती परिमाणको ठुलो हिस्सा ओगटेको थियो ।
यो स्ट्रेट अफ होर्मुजले तेल र ग्यास निर्यात र आयात दुवै ह्यान्डल गर्छ । संयुक्त राज्य अमेरिका र पश्चिम अफ्रिकाबाट ढुवानीसहित कुवेत र युएईले खाडीबाहिरबाट प्राप्त हुने आयात आपूर्ति गर्छ । इआइएले अनुमान गरेको छ कि २०२४ मा यो मार्गबाट ट्रान्जिट गर्ने ८४ प्रतिशत कच्चा तेल एसियाली बजारमा पुग्यो । ग्यास व्यापारमा पनि यस्तै ढाँचा देखिन्छ, ८३ प्रतिशत एलएनजी मात्रा स्ट्रेट अफ होर्मुज हुँदै एसियाली गन्तव्यमा पुग्छ । गत वर्ष चीन, भारत, जापान र दक्षिण कोरियाले सबै कच्चा तेल प्रवाहको संयुक्त ६९ प्रतिशत उपभोगका लागि जिम्मेवार थिए । तिनीहरूका कारखाना, यातायात नेटवर्क र पावर ग्रिड निर्बाध खाडी ऊर्जामा निर्भर छन् । पछिल्लो द्वन्द्वसँगै तेलको मूल्यमा भएको वृद्धिले चीन, भारत र धेरै दक्षिणपूर्वी एसियाली देशहरूलाई असर गर्नेछ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जलडमरुबाट बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्नुपर्छ र यसलाई सरकारले अनुमोदन गर्नुपर्छ । तर, विश्वको सबैभन्दा ठुलो तेल र ग्यास भण्डार भएको यस क्षेत्रमा बढ्दो तनावका कारण हालैका हप्तामा ऊर्जा व्यापारीले उच्च सावधानी अपनाएका छन् । शनिबार युद्ध सुरु भएदेखि, जलडमरुबाट जहाजको यातायातमा तीव्र गिरावट आएको केप्लरका वरिष्ठ कच्चा तेल विश्लेषक मुयु जुले बताइन् । ‘युद्धपछि ओमानको खाडी र अन्य खाडीमा दुवैतिर निष्क्रिय जहाजको संख्या बढेको छ, किनकि जहाज मालिकहरू तेहरानबाट बन्दको चेतावनीपछि समुद्री सुरक्षा जोखिमको बारेमा बढ्दो रूपमा चिन्तित छन्,’ उनले भनिन् ।
‘होर्मुजको जलडमरु विश्वव्यापी ऊर्जा बजारका लागि महत्वपूर्ण छ, किनकि विश्वको समुद्री कच्चा तेलको लगभग ३० प्रतिशत जलमार्गबाट पार हुन्छ ।
‘यसका साथै, विश्वव्यापी जेट इन्धनको लगभग २० प्रतिशत र पेट्रोल र नाफ्थाको लगभग १६ प्रतिशत प्रवाह पनि स्ट्रेटबाटै जान्छ,’ मुयुले भनिन्, ‘आइतबार ओमानको तटमा एउटा तेल ट्यांकरमा प्रहार भएको थियो, जसले द्वन्द्वको स्पष्ट वृद्धि र विशुद्ध सैन्य सुविधाबाट ऊर्जा सम्पत्तिमा लक्ष्यहरू परिवर्तनको संकेत गर्दछ ।’ ढुवानी तथ्यांकले देखाएको छ कि कच्चा तेल र तरल प्राकृतिक ग्यास जहाजसहित कम्तीमा १५० ट्यांकर हर्मुज स्ट्रेटभन्दा बाहिर रोकिएका छन् ।
मरिनट्राफिक प्लाटफर्मबाट जहाज–ट्र्याकिङ डेटामा आधारित रोयटर्स समाचार एजेन्सीको अनुमानअनुसार ट्यांकर इराक र साउदी अरेबियालगायत प्रमुख खाडी तेल उत्पादकहरूको तटबाट खुला पानीमा जम्मा भएका थिए । यसबाहेक आइतबार, युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटिओ)ले स्ट्रेटमा ‘महत्वपूर्ण सैन्य गतिविधि’बारे सचेत रहेको बताएको छ ।
केप्लरका मुयुका अनुसार ऊर्जा पूर्वाधारको एक विस्तृत दायरा अहिले खतरामा छ । ‘यसले तेलको मूल्यवृद्धिलाई तीव्रगतिमा वृद्धि गर्ने अपेक्षा गरिएको छ र मूल्य निरन्तर बढाउनेछ, सम्भवत: गत जुनको द्वन्द्वको तुलनामा अझै लामो समयसम्म ।’ अन्तर्राष्ट्रिय संकट समूहका इरान परियोजनाका निर्देशक अली वैजले अलजजिरालाई भने, ‘हर्मुज जलडमरु बन्द हुँदा विश्वव्यापी रूपमा व्यापार हुने तेलको लगभग पाँच भागको एक भाग रातारात अवरोध हुनेछ र मूल्य सामान्य रूपमा बढ्ने मात्र छैनन् बरु डरलाग्दो तरिकाले आकासिने छ ।
‘यो झट्का ऊर्जा बजारभन्दा धेरै टाढासम्म प्रतिध्वनित हुनेछ, वित्तीय अवस्था कठोर हुनेछ मुद्रास्फीति बढाउनेछ र कमजोर अर्थतन्त्रलाई केही हप्तामै मन्दीको नजिक धकेल्नेछ,’ उनले थपे । अमेरिका र इजरायलले गत जुनमा इरानमाथि बम विस्फोट गराउँदा पनि उक्त क्षेत्रमा समुद्री गतिविधिमा प्रत्यक्ष अवरोध आएको थिएन ।
विश्व अर्थतन्त्रमा यो मार्गले के अर्थ राख्छ ?
होर्मुज हुँदै ऊर्जा प्रवाहमा हुने कुनै पनि अवरोधले विश्व अर्थतन्त्रलाई पनि असर गर्नेछ, जसले गर्दा इन्धन र कारखानाको लागत बढ्नेछ । बेलायतस्थित फर्म क्यापिटल इकोनोमिक्सका जलवायु तथा वस्तु अर्थशास्त्री हमाद हुसेनको भनाइमा विश्वव्यापी अर्थतन्त्रका लागि तेलको मूल्यमा निरन्तर वृद्धिले मुद्रास्फीतिमा चरम दबाब थप्नेछ । ‘यदि कच्चा तेलको मूल्य प्रतिब्यारेल ४१०० सम्म बढ्यो र केही समयका लागि त्यो स्तरमा रह्यो भने यसले विश्वव्यापी मुद्रास्फीतिमा ०.६–०.७ प्रतिशत थप्न सक्छ,’ उनले भने, यसले प्राकृतिक ग्यासको मूल्यमा पनि वृद्धि निम्त्याउनेछ ।
‘यसले प्रमुख केन्द्रीय बैंकद्वारा मौद्रिक सहजीकरणको गतिलाई सुस्त बनाउन सक्छ, विशेषगरी उदीयमान बजारहरूमा, जहाँ नीति–निर्माता वस्तुको मूल्यमा हुने परिवर्तनप्रति बढी संवेदनशील हुन्छन्,’ हुसेनले थपे ।
शंकर प्रेस स्वतन्त्रता, मानव अधिकार, अन्तर्राष्ट्रिय राजनीति विषयमा केन्द्रित भएर लेख्छिन् ।
–अलजजिराबाट