हिमपातसँगै पाथीभरा क्षेत्रमा पर्यटकको चहलपहल

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

ताप्लेजुङ यतिबेला चुनावी माहोलले तातेको छ। सदरमुकामका चिया पसलदेखि गाउँका चौतारासम्म कसले जित्ला भन्ने बहस चलिरहेको छ। किसानहरू खेतबारीको कामबिच पनि चुनावी चर्चा गर्न भ्याइरहेका छन्। तर, जिल्लाको उच्च हिमाली भेग भने अहिले यो माहोलबाट अलि टाढा छ।

पाथीभरा क्षेत्रमा  हिमपातसँगै चुनावी बहसभन्दा पर्यटकको चहलपहल बढेको छ। पछिल्लो हिमपातपछि सेताम्य बनेको पाथीभरा क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक हिमदृश्यमा रमाइरहेका छन्। होटल व्यवसायीहरू पाहुना सत्कारमै व्यस्त छन्।

पाथीभराको माथिल्लो फेदिमा होटल व्यवसाय गर्ने सीता भट्टराई कार्की  चुनावी प्रचारका लागि आएका उम्मेदवार पाथीभराको दर्शन गरेर फर्किएका बताइन्। बजारमा हुने राजनीतिक बहसहरू मोबाइलबाट हेर्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘हामीलाई यहाँ चुनाव लागेको जस्तो अनुभूति हुँदैन। हिउँ परेपछि पाहुना बढेका छन्। सेवा गर्दै फुर्सद छैन।’

मतदानका दिन तल झरेर भोट हाल्ने उनीहरु बताउँछन्। स्थानीयका अनुसार उच्च हिमाली क्षेत्रमा बसोबास कम र पर्यटनसम्बन्धी गतिविधि बढी भएकाले राजनीतिक दलहरूको ध्यान पुग्न सकेको छैन।

हिमपातसँगै पाथीभरा क्षेत्रमा पर्यटक आगमन बढ्दो छ। चीन, भारत, मलेसियालगायत मुलुकका पर्यटकसँगै नेपाली तीर्थयात्री पनि हिमदृश्य अवलोकन गर्न पुगेका छन्। दैनिक दर्जनौँ पर्यटक उक्लिने गरेका छन्।

सुझावित समाचार