सालिकको आकृति सहिदसँग नमिलेपछि अनावरण हुन सकेन जेन–जी सहिद पार्क (तस्बिरहरू)

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

आज बिहानका लागि तय गरिएको ४५ जना सहिदको सालिक अनावरण कार्यक्रम अन्तिम समयमा रोकिएको छ। बिहान ८ः३० बजे हुने भनिएको कार्यक्रम गृहमन्त्रीको समय नमिलेपछि ११ बजेका लागि सारिएको थियो।

अनावरणका लागि गृहमन्त्री र पूर्वाधार विकासमन्त्री कार्यक्रमस्थल पुगे पनि सालिकको सामान्य निरीक्षण गरेर फर्किएका छन्। सालिकमा सहिदहरूको आकृति नमिलेको भन्दै केही सहिद परिवारले आपत्ति जनाएपछि अनावरण कार्यक्रम स्थगित गरिएको हो।

जेन–जी सहिद सालिक निर्माणका सहजकर्ता अर्जुन थापाका अनुसार सालिक निर्माणको मुख्य काम पूरा भए पनि फिनिसिङमा केही समस्या देखिएपछि तत्काल अनावरण नगर्ने निर्णय गरिएको हो। उनले भने, ‘मुख्य काम सकिएको थियो, अलि फिनिसिङ मिलेन भन्ने कुरा आयो। गृहमन्त्रीज्यूहरू निरीक्षण गरेर फर्किनुभयो, अनावरण भएन।’

अनावरण कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको थियो। निर्माण गरिएका ४५ जना सहिदका सालिकको काम पूर्ण रूपमा सम्पन्न भएपछि अर्को उपयुक्त समयमा औपचारिक अनावरण गरिने थापाले जानकारी दिए।

सुझावित समाचार