नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा जेन–जी आन्दोलनका सहिद कलाकार विनोद महर्जन तथा आन्दोलनका क्रममा घाइते भएका फोटोग्राफर दीपेन्द्र ढुंगानाको विशेष कला प्रदर्शनी ‘प्रतिध्वनि’ सुरु भएको छ। सहिद महर्जन तथा आन्दोलनका घाइते ढुंगानाको सिर्जना, जीवनसंघर्ष, स्मृति र कलात्मक योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै आन्दोलनका क्रममा खिचिएका फोटोहरूकाे प्रदर्शनी प्रतिष्ठानले आयोजना गरेकाे हो।
ललितपुर महानगरपालिका– ७, पाटन सुन्धारा–दुपातका महर्जन मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलाका विभिन्न विधामा दक्ष थिए। उनका कलाकृतिहरू नेपालबाहिर मलेसिया, चीन, थाइल्यान्ड तथा युरोपेली देशहरूसम्म पुगेका थिए। जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढिरहेको प्रदर्शनमा अग्रपङ्क्तिमा रहेका उनको गोली लागेर निधन भएको थियो।
2026-09-10-02-19-20.jpeg)
यसैगरी ढुंगाना काठमाडौंलाई केन्द्र बनाएर फोटो पत्रकारितामा सक्रिय नयाँ पत्रिका दैनिकका फोटो पत्रकार हुन्। ६ वर्षभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय उनले बिबिसी, नोओस्फियर, मोंगाबे र निक्केई एसियाजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा पनि आबद्ध भई काम गरेका छन्।
२०८२ भदाै २३ मा नयाँ बानेश्वरमा भइरहेको जेन–जी आन्दोलनको फोटो खिचिरहेका वेला आन्दोलन हिंसात्मक बनेपछि फोटो पत्रकारका रूपमा आफ्नो कर्तव्य निभाइरहेकै क्रममा उनको कानमुनि घाँटीनजिक रबरको गोली लागेको थियो। यस प्रदर्शनीमा उक्त घटनाअघि उनले खिचेका तस्बिरहरू प्रस्तुत गरिएका छन्, जसले एक ऐतिहासिक दिनलाई फोटो पत्रकारको आँखाबाट देखाएको छ।
2026-09-10-02-19-34.jpeg)
प्रतिष्ठानको चन्द्रमानसिंह मास्के ग्यालरीमा बुधबारदेखि जारी प्रदर्शनी भदौ २८ गते आइतबारसम्म चल्नेछ।