साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा प्रति अखिल नेपाल फुटबल संघ (एन्फा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एन्फाले साम्बालाई नेपाली फुटबलको गौरव र धरोहरको रूपमा उल्लेख गर्दै उनको चोट र उपचारसम्बन्धी विषयमा आवश्यक पहल भइरहेको स्पष्ट पारेको छ।

एन्फाका अनुसार साम्बा हाल वेलिंग्टन फीनिक्स एफसीबाट अष्ट्रेलियन ए-लिगमा व्यावसायिक फुटबल खेलिरहेका बेला घुँडामा चोट लागेको हो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यावसायिक क्लब फुटबलमा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने प्रचलन रहेको एन्फाले जनाएको छ।

तर साम्बाले न्युजिल्याण्डभन्दा कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले यसका लागि सबै सम्भव पहल गरिरहेको जानकारी दिएको छ। एन्फाले उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको र अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले व्यक्तिगत रूपमा आवश्यक समन्वय तथा ताकेता गरिरहेको जनाएको छ। साथै साम्बाको आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचारसम्बन्धी कूटनीतिक समन्वयका लागि पनि पत्राचार गरिएको एन्फाले स्पष्ट पारेको छ।

संघले विगतमा राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरलगायतका खेलाडीहरूको सम्पूर्ण उपचार खर्च एन्फाले नै व्यहोरेको स्मरण गराएको छ। एन्फाका अनुसार ती खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

एन्फाले साम्बाको क्लबसँग उपचारसम्बन्धी सम्झौता र व्यवस्थाबारे अध्ययन तथा छलफल गरी कुनै कमी नआउने सुनिश्चित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै राष्ट्रिय टोलीकी कप्तानलाई परेको पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई यथाशीघ्र मैदानमा फर्काउन संघ प्रतिबद्ध रहेको जनाएको छ।

See More On

सुझावित समाचार