उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ का स्थानीयले घरआँगननजिकैका खोलाबाट बालुवा, गिट्टी र ढुंगा उपयोग गर्न नपाउने तथा बाहिरबाट खरिद गर्दा करका कारण महँगो पर्ने गुनासो गरेका छन्। उनीहरूले वर्षायाममा पुल नहुँदा आवतजावत अवरुद्ध हुने र बस्तीसमेत बाढीको जोखिममा पर्ने समस्या जनप्रतिनिधिसमक्ष राखेका हुन्।
सोमबार त्रियुगा– २ स्थित मोतीयाही वडा कार्यालयमा संसद् सहयोग परियोजना/युएनडिपीको सहयोग तथा संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा भएको ‘प्राकृतिक विपत्ति र तटीय क्षेत्रका समस्यासम्बन्धी सार्वजनिक सुनुवाइ’ कार्यक्रममा स्थानीयले पुल, तटबन्ध, नदीजन्य पदार्थ उत्खनन र विपत् व्यवस्थापनसँग सम्बन्धित समस्या उठाएका हुन्।
स्थानीयले विकासका नाममा पटक–पटक बजेट विनियोजन भए पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका थिए। विशेषगरी गाईघाट–फत्तेपुर सडकखण्डमा पर्ने लुहाले, कंग, बबिया र बैरागी खोलामा निर्माण गर्ने भनिएका पक्की पुलको अवस्थाबारे उनीहरूले जनप्रतिनिधिसँग जवाफ मागेका थिए।
सडक पिच भए पनि सडकखण्डमा रहेका दर्जनौँ खहरे खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थानीयको भनाइ छ।
त्रियुगा– २ का स्थानीय केदारप्रसाद खतिवडाले घरबाट करिब पाँच सय मिटरको दूरीमा खोला भए पनि त्यहाँबाट बालुवा, गिट्टी र ढुंगा ल्याउन नपाउने बताए। बाहिरबाट खरिद गर्दा करका कारण सामग्री महँगो पर्ने उनको गुनासो छ।
‘घरबाट पाँच सय मिटरनजिक खोला छ। आफूले बालुवा, गिट्टी र ढुंगा उठाउन पाइँदैन। कर तिरेर ल्याउँदा ६ सय रुपैयाँ पर्छ,’ उनले भने, ‘बालुवा, गिट्टी र ढुंगाको करको दर प्रदेश सरकारले तोक्दोरहेछ। यसबारे पुनर्विचार गर्न माग गर्दछु।’
अर्का स्थानीय अर्जुन पोखरेलले चुरे क्षेत्रबाट बगेर आउने खोलाका कारण दक्षिणी भेगका बस्ती बाढीको उच्च जोखिममा रहेको बताए। लुहाले, कंग र बबियालगायत खोलाका कारण बस्तीमा हुने जोखिम न्यूनीकरणका लागि तत्काल पहल आवश्यक रहेको उनको भनाइ थियो।
‘खोला किनारनजिकका बस्ती बाढीका कारण विस्थापित हुने त्रास छ। लुहाले, कंग, बबियालगायत खोलाबाट बस्ती बचाउनुपर्छ,’ पोखरेलले भने।
स्थानीय तारा पौडेलले पुल निर्माणसँगै महिलालाई गाउँमै रोजगारी र उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिन्। त्रियुगा– २ का महिलाहरू घाँस–दाउरा बेच्नसमेत गाईघाट बजार पुग्नुपर्ने अवस्था रहेको उनले बताइन्।
‘खोलामा पुल नहुँदा समस्या छ। महिलालाई गाउँमै उद्योग खोल्न र व्यवसायी बनाउन के–कस्ता पहल भइरहेका छन् ? हामीले पटक–पटक माग गर्दै आएका छौँ,’ उनले भनिन्।
स्थानीय सुवास रसाइलीले विकासका लागि बजेट आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे। सार्वजनिक सुनुवाइमा स्थानीयले समस्या राख्ने गरे पनि समाधानका लागि काम नभएको उनको भनाइ थियो।
‘यहाँ धेरै बजेट आउने गरेको छ। कहाँ–कहाँ के–के काम भइरहेको छ ? सार्वजनिक सुनुवाइ हुँदा समस्या राख्ने काम हुन्छ, तर काम हुँदैन,’ रसाइलीले भने।
स्थानीयका प्रश्नको जवाफ दिँदै डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले वनसँग सम्बन्धित कतिपय कानुन पुराना रहेको बताए। संघ र प्रदेशबिचको नीतिगत असमझदारीका कारण पनि स्थानीय तहमा समस्या देखिएको उनको भनाइ थियो।
पूर्वमन्त्री तथा प्रदेश सांसद नारायण बुर्जामगरले उदयपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरू एकजुट भएर जिल्लाका समस्या प्रदेश सरकारसमक्ष उठाउने प्रतिबद्धता जनाए।
‘जनताले प्रश्न अब हामीलाई मात्र होइन, संघीय सरकार र संघीय संसद्लाई पनि गर्नुपर्छ। हामी प्रदेशका सांसद जनताका मुद्दाका सवालमा एकजुट भएर प्रदेश सरकारसमक्ष उदयपुरका समस्या राख्छौँ,’ उनले भने।
प्रदेश सांसद गीतादेवी रेग्मीले प्राकृतिक विपत्ति र तटीय क्षेत्रका समस्या प्रदेश सभा तथा सरकारसमक्ष राखेर समाधानका लागि पहल गर्ने बताइन्। सांसद सम्झना पाख्रिनले नदीजन्य पदार्थ र भौतिक पूर्वाधारसँग सम्बन्धित समस्या स्थानीय र प्रदेश सरकारको सहकार्यमा समाधान गर्नुपर्ने धारणा राखिन्।
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले गाईघाट–फत्तेपुर सडकखण्डमा पर्ने कंग, बबिया र लुहाले खोलामा पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिइन्। उनले विगत नौ वर्षमा प्रदेश सरकारबाट आएको बजेट र भएका कामको समेत समीक्षा गर्नुपर्ने बताइन्।
‘नौ वर्षमा प्रदेश सरकारबाट कति बजेट आयो ? कति काम भए ? यसकाे पनि खाेजिन गर्नुपर्छ,’ उनले भनिन्।
समस्या समाधानका लागि जनप्रतिनिधिबिच एकता आवश्यक रहेको बताउँदै दनुवारले दलगत विभाजनभन्दा जनताको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। नदी उकास क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि कानुनी समस्या रहेको भन्दै त्यसका लागि प्रदेश सभामार्फत पहल गर्ने उनले बताइन्। उनले आफ्नै पहलमा उदयपुरमा ५० करोड रुपैयाँभन्दा बढीका आयोजना ल्याएको दाबीसमेत गरिन्।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा उदयपुरबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने हिमाल कार्की, रामकुमार खत्री, लीलाकुमारी राई र राजन किराँती भने उपस्थित थिएनन्। मञ्चले उदयपुरका सबै प्रदेश सांसदलाई कार्यक्रममा निमन्त्रणा गरिएको जनाएको छ।