मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

विराटनगर । मोरङको बुढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

कोशी लोकमार्गअन्तर्गत बुढीगंगा गाउँपालिका– २ स्थित नेपाल फ्युल सेन्टरअगाडि सोमबार बिहान करिब ६ बजे विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो।

साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल सडक किनारको रेलिङमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार सिराहाको लहान– ३ का १८ वर्षीय डाइमन्डकुमार कुसवाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार लहान– २ का १७ वर्षीय राहुल कुसवाह र साइकलयात्री सुनसरीको दुहबी– १ का २२ वर्षीय साहजित मियाँ घाइते भएका छन्। दुवैको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ। मोटरसाइकल कसले चलाएको थियो भन्नेबारे भने प्रहरीले खुलाएको छैन।

सुझावित समाचार