लहान । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका छुट्टाछुट्टै गस्ती टोलीले सिरहाको लहान नगरपालिका क्षेत्रका दुई स्थानबाट ७३ किलोभन्दा बढी गाँजा बरामद गरेका छन् । प्रहरीले गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आइतबार लहान नगरपालिका– १८, भदैया बिसनपुर गाउँस्थित धान खेतबाट ६१ किलो ५४० ग्राम गाँजाजस्तो पदार्थ बरामद भएको हो । तीनवटा प्लास्टिकका बोरामा प्याक गरिएको उक्त पदार्थ लहान प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले धान खेतमा बेवारिसे अवस्थामा फेला पारेको थियो ।
बरामद गाँजाजस्तो पदार्थ लहानस्थित इलाका प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
यसैगरी, सशस्त्र प्रहरी बलको गस्ती टोलीले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहान नगरपालिका– ३ स्थित बलान खोला क्षेत्रबाट १२ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
सिराहास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टरका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका– ११, पडरियाका करिब २४ वर्षीय अजय सदाय रहेका छन् ।
गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार सुरक्षा बेस लहानबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा सदायले बोकेको झोलाबाट प्रतिबन्धित गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका सदायलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
दुवै घटनामा गरी प्रहरीले कुल ७३ किलो ५४० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।