शिक्षाको नवउदारवादी वस्तुकरणको परिणाम

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

भारतमा आयोजित ‘एआई समिट’मा गलगोटियास विश्वविद्यालयले प्रदर्शनमा राखेको ‘ओरियन’ नामको रोबोटको वास्तविकता खुलेपछि सो शैक्षिक संस्था अहिले हाँसोको पात्र बनेको छ । चीनबाट किनेको रोबोटलाई आफ्नो संस्थाले विकास गरेको भनेर प्रदर्शन गरिनुले एक शैक्षिक संस्थाको बेइमानी मात्र होइन, शिक्षाको अधिक निजीकरणसँगै आउने पतन उजागर भएको छ । जब गलगोटियास विश्वविद्यालयको बेइमानी पक्राउ पर्यो, तब विश्वविद्यालय सञ्चालक समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषजति सबै संलग्न फ्याकल्टी (विश्वविद्यालय शिक्षक)माथि लगाएको छ । खासमा यो कुनै शिक्षकलाई दोष लगाएर पन्छिनेभन्दा समग्र शैक्षिक समुदायले आत्मसमीक्षा गर्नुपर्ने घटना हो । सार्वजनिक बहसको सुरुवात भारतको ‘नयाँ शिक्षा नीति (२०२०)’बाटै हुनुपर्छ । 

 नयाँ शिक्षा नीति (२०२०) र विश्वविद्यालयहरूको बजारीकरण
भारतको ‘नयाँ शिक्षा नीति (२०२०)’लाई विद्यालय र उच्च शैक्षिक संस्था दुवैमा रूपान्तरणकारी परिवर्तन ल्याउन सघाउने नीतिका रूपमा प्रचार गरिने गरेको छ । तर, यो नीति ल्याइएसँगै शिक्षाप्रति राज्यको जिम्मेवारी संकुचित भएको छ । उसो त भारतमा शिक्षाको निजीकरणको प्रवृत्ति सन् १९८० को दशकमै सुरु भएको हो र त्यसले सन् १९९० को दशकमा तीव्रता पाएको थियो । तर, अहिले सन् २०२० मा ल्याइएको नयाँ शिक्षा नीतिले भने खुलेर शिक्षाप्रति राज्यको कर्तव्य कम गर्ने भनेर जोड दिएको छ । अहिले भारतमा शिक्षालाई ‘विशेष वस्तु’ मान्दै कक्षाकोठालाई कर्पोरेटस्थल र शिक्षकलाई सेवा प्रदायकमा रूपान्तरण गर्ने बाटो खोलिएको छ । यस नीतिले सार्वजनिक शैक्षिक संस्थालाई दिइने सरकारी अनुदानलाई ऋणले प्रतिस्थापन गरेर बजारीकरण, व्यवसायीकरण र निजीकरणमा बढी जोड दिएको छ । ऋणको भार कम गर्न निजी शैक्षिक संस्थाले शुल्क बढाउने गरेका छन् । 

गलगोटियास विश्वविद्यालय प्रकरणले भारतका निजी विश्वविद्यालयहरू ज्ञान सिर्जनाभन्दा छवि निर्माणमा केन्द्रित हुँदै गएको देखाउँछ 

नवउदारवादको उदय र शिक्षाको वस्तुकरणले शिक्षक तथा विद्यार्थी दुवैलाई कर्पोरेट आदेशपालकमा बदलिदियो । यसले शैक्षिक संस्थाले मार्केटिङ र जनसम्पर्क विस्तार गर्ने कार्यक्रममा ध्यान दिनुपर्ने अवस्था सिर्जना गरिदियो । अहिले शैक्षिक संस्थाका लागि शिक्षक वा शिक्षाविद्भन्दा आफ्नो छवि निर्माण बढी महŒवपूर्ण बन्न पुगेको छ । र, संस्थामाथि कुनै समस्या आउँदा दोषजति फ्याकल्टीमाथि थोपरेर आफू चोखिने अभ्यास ह्वात्तै बेढेको छ । उसो त भारतमा पछिल्लो समय विश्वविद्यालयहरूले आफ्ना शिक्षक शिक्षिका(फ्याकल्टी)को विचारबाट ‘राजनीतिक’ भन्दै दूरी कायम गर्ने प्रवृत्ति नै बनेको छ । 

भर्खरै पिएचडी गरेका जनशक्तिमाथि अहिले अनुसन्धान गर्न र निष्कर्ष प्रकाशनमा जोड दिनुभन्दा ‘बजार मूल्य’भएका कार्यक्रम सञ्चालन गर्न दबाब बढी हुन्छ । असहमति, सार्वजनिक बैठक, बहस र छलफल शिक्षाविद्का लागि दाल र भातजस्तै हुन् भन्ने सिकाइमा हुर्किएका मजस्ता धेरै पिएचडीधारीले अहिले आफूलाई प्रणालीमा अमिल्दो पाइरहेका छौँ । यस शैक्षिक वातावरणले अनुसन्धान ‘औसत नै ठिक’ भन्ने भाष्यलाई हाबी गराउँदै छ । गलगोटियास प्रकरण यही शैक्षिक वातावरणको प्रमाण हो ।

 फेसन बनेको ‘एआई’ 
सन् २०२५ मा ‘प्यु रिसर्च’ले गरेको एक अध्ययनमा बहुसंख्यक भारतीयमा ‘एआई’बारे एकदम कम वा शून्य जानकारी रहेको पाइएको थियो । एआई अहिले तीव्र गतिमा विकास भइरहेको तथ्य स्विकार्न कुनै हिचकिचाहट गर्नुपर्दैन । भारतमा समय–समयमा, विभिन्न सार्वजनिक र निजी विश्वविद्यालयले एआईको प्रयोगबारे तालिम दिइरहेका हुन्छन् । साथै, यस नयाँ प्रविधिले शैक्षिक प्रणालीलाई कसरी परिवर्तन गर्न सक्छ भनेर संकाय विकास कार्यक्रम आयोजना भएको पनि देखिन्छ । पछिल्लो समय उच्च शैक्षिक क्षेत्रमा कलेज असाइनमेन्टदेखि सम्मेलनसम्म एआईको प्रयोग पनि भइरहेको छ । तर, चिन्ताजनक कुरा, विद्यार्थीले असाइनमेन्टहरूमा एआईको प्रयोग गर्दा लेखनमा एआईले दिएका सुझाबलाई कसरी र के–कति जोड्न मिल्छ भनेर बुझ्न संघर्ष गरेको पाइन्छ ।

गलगोटियासको घटना दुई कारणले चिन्ताजनक र खतरनाक छ– पहिलो, फ्याकल्टी (शिक्षकशिक्षिका)ले ‘ओरियन’ नामको रोबोटलाई विश्वविद्यालयले नै विकास गरेको नवप्रवर्तनको परिणाम भनेर प्रचार गर्नुले एआई प्रयोगको प्रचारमा गलत सूचना उपयोगी हुने विश्वास देखियो । साथै, विभिन्न माध्यममा त्यस विश्वविद्यालयका प्रोफेसरले ‘ओरियन’ले निगरानी र अनुगमनजस्ता काम गर्न सक्ने दाबी गरेको सुनियो, जसमा तिनले प्रविधिको नैतिक प्रभाव बिर्सिएको प्रस्ट हुन्छ । 

दोस्रो, यस घटनाले भारतको राष्ट्रियस्तरमा नजानी नजानीकनै एआईको कुन हदसम्म महिमागान भइरहेको छ भनेर देखाउँछ । शिक्षामा एआईको प्रयोग प्रशंसनीय विषय हो । शिक्षामा एआईलाई जोड्नुको अर्थलाई हामीले राम्ररी बुझ्नुपर्छ । तर, यहाँ एआईको प्रयोग शिक्षाको गुणस्तर बढाउनेमा भन्दा विश्वविद्यालयको छवि बढाउने औजार मानिँदै छ । अर्थात्, विश्वविद्यालयका पिआर (छवि विस्तार) संयन्त्रले एआईलाई संस्थाको छवि विकास गर्ने विषय मात्र मानेजस्तो देखियो । गलगोटियास प्रकरण खासमा आफैँमा समस्याभन्दा थप ठुलो समस्याको लक्षण मात्र हो, जुन समस्या प्रविधिबारे पर्याप्त ज्ञानले सिर्जित भएको हो । साथै, यस प्रकरणले भारतका निजी विश्वविद्यालयहरू वास्तविक ज्ञान विकासभन्दा छवि निर्माणमा कति केन्द्रित छन् भनेर देखाउँछ । यी सबका बिच सेवाका रूपमा शिक्षाको भने निरन्तर अवमूल्यन भइरहेको छ ।
 द वायरबाट

सुझावित समाचार