निर्माण कम्पनीको लापरबाहीले एक वर्षमा बन्नुपर्ने नगर अस्पताल पाँच वर्षमा पनि बनेन

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

निर्माण कम्पनीको लापरबाहीले बर्दियाको बाँसगढी नगरपालिकामा रहेको नगर अस्पतालको भवन  निर्माणको काम करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा  नगर अस्पतालको भवन निर्माणको काम चार वर्ष १० महिनादेखि अलपत्र अवस्थामा रहेको छ ।

महालक्ष्मी जय धनञ्जय जेभीले ३१ वैशाख ०७८ मा अस्पताल निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले अस्पतालको भवन निर्माणको काम ३० वैशाख ०७९ मा सक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले सम्झौताअनुसार समयमा काम नगरेर अहिलेसम्म आयोजनाको म्याद तीनपटक थप भएको छ । अन्तिमपटकको सम्झौताअनुसार निर्माण कम्पनीले ३० पुस ०८२ सम्म भवन निर्माणको काम गरिसक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले तेस्रोपटक थप भएको अवधिमा पनि निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । 

निर्माण कम्पनीले अहिलेसम्म करिब ८० प्रतिशत भौतिक निर्माणको काम सम्पन्न गरेको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिए । उनले भने, ‘कार्यालयले निर्माण कम्पनीलाई समयमा काम गराउनका लागि पटकपटक ताकेतासमेत गरेको छ । तर, निर्माण कम्पनीको ढिलाइले गर्दा अस्पतालको भवन निर्माणको काम सम्पन्न हुन सकेको छैन ।’

निर्माण कम्पनीले अस्पतालको भवनका लागि भएका जग्गा विवाद,  जग्गाको अभाव, काम गरेअनुसार समयमा भुक्तानी नहुँदा पनि अस्पतालको भवन निर्माणको ढिलाइ भएको बताए ।  उनले भने, ‘सरकारले काम गरेअनुसार समयमा भुक्तानी दिँदैनन् ।  अस्पतालमा जडान गर्नुपर्ने लिफ्टलगायत सामान बजारमा सजिलै नपाइने भएको हुँदा पनि अस्पतालको भवन निर्माणको काममा ढिलाइ भएको हो ।’ 

अस्पतालको भवन बनाउन आवश्यक पर्ने दक्ष जनशक्ति नपाउने समस्याले पनि अस्पतालमा काममा ढिलासुस्ती भएको निर्माण कम्पनी जानकारी दियो ।  निर्माण कम्पनीले अस्पतालको भवन निर्माणको  ठेक्का आठ करोड ८५ लाख ८२ हजार रुपैयाँमा प्राप्त गरेको थियो । सार्वजनिक खरिद नियमावली ०७४ ले पूर्वनिर्धारित समयमा काम नगर्ने आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीलाई जरिवाना र ठेक्का रद्द गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

सुझावित समाचार