कम्युनिस्ट नेता लोककृष्ण भट्टराईद्वारा लिखित पुस्तक ‘निर्वासन’मा आन्दोलनका क्रममा नेताहरूले भोगेका घटनाहरूको दृष्टान्त पाइन्छ । कार्ल मार्क्स, लेनिन र पुष्पलाल श्रेष्ठले लोकतन्त्र र समाजवाद स्थापना गर्न के कस्ता दुःख खेप्नुपर्यो भन्ने विषय किताबमा भेट्न सकिन्छ । आफ्नो समयमा यी तीनजनालाई खुला रूपमा आफ्ना विचार राख्न दिइएन । तत्कालीन देशका निरंकुश शासकले यी तीनैजनालाई दुःख दिनुसम्म दिए । निर्वासनमा जानुपर्यो । विदेशमा शरण लिनुपरेको कुरालाई भट्टराईले पुस्तकमा मार्मिक ढंग लेखेका छन् ।
तीनैजनाले आ–आफ्नो समयमा निर्वासनमा बस्नुपर्यो । यी तीनमध्ये नेपाली कम्युनिस्ट नेता पुष्पलाललाई राजा महेन्द्रले देशभित्र शान्तिपूर्ण रूपमा बस्न दिएन । उनले भारतमा निर्वासित जीवन बिताउनुपर्यो । कार्ल मार्क्सलाई तत्कालीन जर्मन सरकारले देशभित्र बस्न दिएन र फ्रान्समा निर्वासित हुनुपर्यो । फ्रान्सले पनि बस्न दिएन, बेल्जियम जानुपर्यो । बेल्जियमले पनि बस्न नदिएपछि लन्डनमा निर्वासित जीवन बिताउनुपरेको कुरालाई पुस्तकमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
मार्क्सले त्यहीँ बसेर ‘क्यापिटल’जस्ता विश्व चर्चित किताब लेखे । त्यसबिचमा माक्र्सले अनेक समस्या झेले र अन्त्यमा लन्डनमै उनको मृत्यु भयो । त्यति मात्रै होइन, माक्र्सको शवसमेत जर्मन ल्याउन तत्कालीन सत्ताले दिएन र लन्डनमा नै अन्त्येष्टि गरियो । यसैगरी, नेपाली निरंकुश शासकले पुष्पलाललाई देशभित्र बस्न र राजनीतिक, सामाजिक कार्य त गर्न दिएन भारतमा निर्वासित जीवन बिताउनुपर्यो । यिनको मृत्यु पनि २०३५ सालमा भारतमा निर्वासनमा रहेकै वेला भयो । यिनको पनि शव निरंकुश राजाले ल्याउन दिएन र दिल्लीको यमुना नदीको निगमबोध घाटमा दाहसंस्कार गरियो । अस्तु पनि लुकाएर ल्याउनुपर्यो । यिनका दाजु गंगालाललाई गोली हानेको ठाउँ विष्णुमतीको शोभा भगवतीमा ल्याई अस्तु बगाइयो ।
उता रुसको क्रूर जार शासकले लेनिनलाई पनि देशभित्र बस्न दिएन र छिमेकी देश फिनल्यान्ड र जर्मनीमा निर्वासनमा बस्नुपर्यो । निर्वासनमा बस्दाबस्दै यिनले रुसभित्र व्यापक संगठन विस्तार गरे र त्यो संगठित रसियन सोसलिस्ट पार्टीले सन् १९१७ मा जार शासन ढाल्यो । यिनको नेतृत्वमा क्रान्तिकारी सरकार बनायो । तर, यिनलाई त्यसवेलाका रुसका क्रान्तिविरोधीहरूले गोली हाने र दुई वर्ष थलिएर सन् १९२४ मा यिनको मृत्यु भयो ।
यो पुस्तकमा यी तीनैजनाले निर्वासनमा बस्दा गरेका कार्य पढ्न पाइन्छ । पुष्पलाल अध्ययन समाजका अध्यक्षसमेत रहेका लेखक भट्टराईको यो पुस्तक लोकतान्त्रिक तथा प्रगतिशील आन्दोलनका अध्येताहरूले नछुटाई पढ्नुपर्ने कृति हो । पुस्तकलाई ‘कोसेली प्रकाशन’ले पाठकमाझ ल्याएको हो ।