क्युबाको मेडिकल मिसनमा अमेरिकी हस्तक्षेप किन ?

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

ग्वाटेमालाले आफ्नो तीन दशक पुरानो स्वास्थ्य कार्यक्रमलाई चरणबद्ध रूपमा अन्त्य गर्न लागेको गत साता घोषणा गर्यो । सो कार्यक्रमअन्तर्गत क्युबाली डाक्टरहरूले ग्वाटेमालाको स्वास्थ्य सेवा प्रणालीमा रहेको ठुलो खाडल भर्न क्युबामा काम गर्दै आएका छन् । संयुक्त राज्य अमेरिकाको भारी प्रतिबन्धअन्तर्गत कम्युनिस्ट सरकार क्युबाले आफ्नो ‘सेतो कोटधारी सेना’का हजारौँ सदस्यलाई विश्वभरका स्वास्थ्य क्षेत्र विशेष गरी ल्याटिन अमेरिकामा भाडामा दिएर प्रत्येक वर्ष अर्बौँ डलर कमाउँदै आएको छ । हवानाले अन्तर्राष्ट्रिय कूटनीतिका लागि एक उपकरणसरह विश्वव्यापी रूपमा आफ्नो चिकित्सा मिसन प्रयोग गरेको छ ।

अमेरिकाले विना कुनै प्रमाण नै क्युबाको विदेशी चिकित्सा मिसनलाई ‘जबर्जस्ती श्रम’ र मानव बेचबिखनको एक स्वरूप मानेको छ र यसको उद्देश्य क्युबाली सरकारको विदेशी आम्दानीको सबैभन्दा ठुलो स्रोतमा पहुँच प्रतिबन्धित गर्नु हो । क्युबाको चिकित्सा मिसनलाई नियन्त्रण गर्ने अमेरिकी प्रयास नयाँ होइन । गत वर्ष मात्र वासिङटनले विदेशी सरकारलाई क्युबासँग चिकित्सा सहयोग सम्झौता गर्नबाट निरुत्साहित गर्ने उद्देश्यले भिसा प्रतिबन्ध लगाएको थियो । गत वर्ष फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले ‘क्युबाली श्रम निर्यात कार्यक्रमसँग जोडिएको जबर्जस्ती श्रम’लाई लक्षित भिसा प्रतिबन्धित गर्ने घोषणा गरे ।

अमेरिकाले विना कुनै प्रमाण क्युबाको विदेशी चिकित्सा मिसनलाई ‘जबर्जस्ती श्रम’ र ‘मानव बेचबिखन’को एक स्वरूप मानेको छ

‘यो विस्तारित नीति वर्तमान वा पूर्वक्युबाली सरकारी अधिकारी र विदेशी सरकारी अधिकारीसहित अन्य व्यक्तिमा लागू हुन्छ, जो क्युबाली श्रम निर्यात कार्यक्रम विशेष गरी क्युबाको विदेशी चिकित्सा मिसनका लागि जिम्मेवार वा संलग्न मानिन्छन्,’ अमेरिकी विदेश मन्त्रालयको वेबसाइटको एक विज्ञप्तिमा भनिएको छ । क्युबाली मूलका रुबियो हवानाका मुखर आलोचक हुन् र उनले ल्याटिन अमेरिकामा अमेरिकी नीतिलाई अगाडि बढाएका छन्, जसमा जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गर्न गरिएको सैन्य कारबाही पनि समावेश छ । ट्रम्पको नेतृत्वमा, वासिङटनले आफ्नो पश्चिमी गोलाद्र्धको अक्षको एक अंशको रूपमा ल्याटिन अमेरिकामा आफ्नो ध्यान केन्द्रित गरेको छ, जसले यस क्षेत्रमा वासिङटनको प्रधानता पुनस्र्थापित गर्न खोज्छ ।

मदुरोको अपहरणपछि अमेरिकाको ध्यान क्युबातिर मोडिएको छ । वरिष्ठ अमेरिकी अधिकारीहरू विशेष गरी रुबियोले संकेत गरे कि हवाना वासिङटनको दबाब अभियानको अर्को लक्ष्य हुन सक्छ । वास्तवमा, अमेरिकाले नयाँ तेल नाकाबन्दीको एक अंशका रूपमा क्युबामा भेनेजुएलाको तेल ढुवानी बन्द गर्यो । हवानाले दशकौँदेखि व्यापक अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ र क्युबाले २००० देखि मादुरोका पूर्ववर्ती ह्युगो चाभेजसँग भएको सम्झौताको भागका रूपमा प्रदान गरिएको भेनेजुएलाको तेलमा बढ्दो रूपमा निर्भर रहेको छ । नाकाबन्दीले इन्धनको अभावले गर्दा क्युबामा गम्भीर ऊर्जा संकट निम्त्याएको छ । राष्ट्रपति मिगुएल डियाज–केनेलले प्रतिक्रियाका रूपमा कठोर आपतकालीन प्रतिबन्ध लगाएका छन् । यसले क्युबाली चिकित्सा मिसन चरणबद्ध रूपमा बन्द गर्न देशहरूमा अमेरिकी दबाबलाई नवीकरण गरेको छ ।

विश्वभरका ५६ देशहरूमा २४ हजारभन्दा बढी क्युबाली चिकित्सक कार्यरत छन् । यसमा भेनेजुएला, निकारागुआ र मेक्सिकोजस्ता ल्याटिन अमेरिकी देश; अँगोला, मोजाम्बिक, अल्जेरियासहित अफ्रिका र कतारसहित मध्यपूर्व समावेश छन् । अन्य देशमा पनि कहिलेकाहीँ तैनाथ भएका छन् । उदाहरणका लागि इटालीले कोभिड– १९ महामारीको समयमा क्युबाली डाक्टरलाई आफ्नो सबैभन्दा बढी प्रभावित क्षेत्रका केही अस्पतालमा मद्दत गर्न प्राप्त गरेको थियो । क्युबाली डाक्टर क्यारिबियन देशहरूका लागि महत्वपूर्ण छन् । प्रशिक्षित चिकित्सा पेसेवरहरूको अभावबिच तिनले चिकित्सा हेरचाहमा उल्लेखनीय खाडल भर्छन् ।

क्यारिबियन देशहरूले मार्च २०२५ मा भिसा प्रतिबन्ध लगाउने अमेरिकी धम्कीविरुद्ध जवाफी हमला गरे । ‘क्युबाली नर्स र क्युबाली डाक्टरविना हामीले महामारीबाट पार पाउन सक्दैनौँ,’ बार्बाडोसकी प्रधानमन्त्री मिया मोटलीले संसद्मा भनिन्, ‘अहिले अचानक, हामीलाई मानव तस्कर भनिएको छ किनभने हामी प्राविधिक मानिसलाई काममा राख्छौँ र उनीहरूलाई उच्च शुल्क तिर्छौँ,’ त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले त्यतिवेला भनेका थिए । उनले आफ्नो अमेरिकी भिसा गुमाउन तयार रहेको बताए । ‘यदि क्युबालीहरू भएनन् भने हामी सेवा चलाउन सक्षम नहुन सक्छौँ,’ सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सका तत्कालीन प्रधानमन्त्री राल्फ गोन्साल्भेसले भने । ‘म गरिब र काम गर्ने मानिस मर्नुभन्दा मेरो भिसा गुमाउन रुचाउँछु,’ उनले भने ।

अगस्ट २०२५ मा अमेरिकाले डाक्टरलाई विदेश पठाउने क्युबाको कार्यक्रमसँगको सम्बन्धका कारण ब्राजिलियन, अफ्रिकी र क्यारिबियन अधिकारीको भिसा रद्द गर्ने घोषणा गर्यो । यसले ब्राजिलियन स्वास्थ्य मन्त्रालयका अधिकारी मोजार्ट जुलियो टाबोसा सेल्स र अल्बर्टो क्लेइमनको नाम लिएको थियो, जसलाई सन् २०१३ मा गठन गरिएको ब्राजिलको माइस मेडिकोस वा ‘मोर डाक्टर्स’ कार्यक्रममा काम गरेका कारण भिसा रद्द गरिएको थियो । केही देशले अब वासिङटनको दबाबबाट बच्न उपाय खोजिरहेका छन् । उदाहरणका लागि यस महिना गुयानाले घोषणा ग¥यो कि उसले क्युबाली सरकारमार्फत नभई सिधै डाक्टरलाई भुक्तानी गर्न सुरु गर्नेछ ।
(समिम अलजजिराकी स्तम्भकार हुन्)

सुझावित समाचार