निगमले खोलेको डिपोबाट नियमित ग्यास बिक्री

टेकुस्थित पुरानो कार्यालयबाट नेपाल, एभरेस्ट र सुगम ग्यासको सिलिन्डर बिक्री भइरहेका छन्

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

आपूर्ति सहज गर्न आयल निगमले टेकुस्थित पुरानो कार्यालयमा राखेको अस्थायी डिपोबाट नियमित रूपले ग्यास बिक्री भइरहेको छ । निगमका अनुसार हालसम्म उक्त स्थानबाट नौ सय ९६ वटा नेपाल, एभरेस्ट र सुगम ग्यासको सिलिन्डर बिक्री भएका छन् ।

निगम प्रवक्ता मनोज ठाकुरका अनुसार डिपो सञ्चालन गरिएको पहिलो दिन बुधबार ६५ वटा ग्यास सिलिन्डर बिक्री भएका थिए । त्यसपछि बिहीबार तीन सय ९१, शुक्रबार चार सय र आइतबार एक सय ४० वटा ग्यास सिलिन्डर बिक्री भएको ठाकुरले जानकारी दिए । ‘ग्यास नपाएर भाैँतारिनुपरेका उपभोक्तालाई सहजीकरण गर्न टेकुस्थित कार्यालयमा राखिएको डिपोबाट नियमित रूपले ग्यास बिक्री भइरहेको छ,’ उनले भने, ‘उपभोक्ताहरूले कार्यालय समयमा आएर लिनेक्रम जारी छ ।’

निगमका अनुसार एभरेस्ट र सुगम ब्रान्डका पाँच सय सिलिन्डर र नेपाल ब्रान्डका चार सय ९६ सिलिन्डर ग्यास बिक्री भएका छन् । एभरेस्ट र सुगम ग्यासका सञ्चालक एउटै भएकाले उपभोक्ताले दुईमध्ये जुन सिलिन्डर लिएर आए पनि निगमको कार्यालयबाट एभरेस्ट ग्यास लैजाने सुविधा दिइएको छ । काठमाडौं उपत्यकामा नेपाल ग्यासका सबैभन्दा धेरै आठ लाख र त्यसपछि एभरेस्ट ग्यासका पाँच लाखभन्दा बढी सिलिन्डर छन् । दुवै ग्यासका उपभोक्तालाई सहज गराउन निगमले अस्थायी डिपो राखेर बिक्री थालेको जनाएको छ ।

निगमका अनुसार नेपाल ग्यासको सिलिन्डर बुधबार ३५, बिहीबार एक सय ९१, शुक्रबार दुई सय र आइतबार ७० थान बिक्री भएका छन् । त्यस्तै, एभरेस्ट र सुगम ग्यासका सिलिन्डर बुधबार ६५, बिहीबार र शुक्रबार समान दुई सय र आइतबार ७० थान सिलिन्डर बिक्री भएका छन् । प्रवक्ता ठाकुरले आपूर्ति सहज हुन्जेलसम्म उपभोक्ताले टेकुस्थित कार्यालय गएर तीनवटै ब्रान्डका ग्यास खरिद गर्न सक्ने बताए ।

‘कार्यालय समयमा उपभोक्ताहरू टेकु गएर तीनवटै ब्रान्डका सिलिन्डर साटेर ग्यास लैजान सक्नुहुन्छ,’ उनले भने । टेकु कार्यालयमा निगमले अस्थायी डिपो सञ्चालन गरेपछि बजारमा आपूिर्त सहजताका लागि दबाब बढेको उनले बताए । 

 आयातमा पनि वृद्धि
आयल निगमले ग्यास आयात पनि बढाइरहेको जनाएको छ । दैनिक औसत ९० बुलेट ग्यास आयात हुने गरेकामो अहिले औसत एक सय ३० बुलेटभन्दा बढी आयात भइरहेको प्रवक्ता ठाकुरले जानकारी दिए । ‘फेब्रुअरी महिनाका लागि कोटा बढाएर आयात पनि वृद्धि गराएका छौँ,’ उनले भने, ‘उद्योगीले इन्डियन आयल कर्पोरेसनको बरौनी, दुर्गापुर, पाराद्विप, मथुरा र हल्दिया रिफाइनरीबाट ग्यास उठाइरहेका छन् ।’

आइओसीको पाँचवटै डिपोबाट अहिले लोडिङ पनि नियमित भइरहेको उनले जानकारी दिए । एक महिनाअघि भने सबैभन्दा धेरै ग्यास लोड हुने बरौनी मर्मतका लागि बन्द हुँदा आयात नै प्रभावित भएको थियो । मर्मत सकेर बरौनीले समेत नियमित रूपमा ग्यास बिक्री गरेकाले आयातमा समस्या नरहेको ठाकुरले जानकारी दिए ।
देशभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । तर, अभावको हल्ला फैलिएपछि माघ लागेयता खपत पनि बढेको छ । उपभोक्ताले घरमा रहेका रित्ता सिलिन्डर साट्न दौडिएकाले खपत बढको र आपूर्ति सहज गराउन कठिनाइ भएको निगमले दाबी गर्दै आएको छ ।

See More On

सुझावित समाचार