डाक्टरले देखेको देश

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
  • चार दशकअघि बंगलादेशमा एमबिबिएस पढ्दा पाएको छात्रवृत्ति जोगाएर क्यामेरा किनेँ, त्यहीँबाट सुरु भयो, मेरो फोटोग्राफी

कलेज जीवनदेखि नै फोटोग्राफीप्रति गहिरो रुचि थियो । वेलावेला साथीहरूको क्यामेरा लिएर प्राकृतिक दृश्य र पशुपन्छीको फोटो खिच्थेँ । सन् १९८६ को जनवरीमा बंगलादेशको राजशाही मेडिकल कलेजबाट एमबिबिएसको इन्टर्नसिप सकाएँ । त्यहाँ पढ्दा छात्रवृत्तिको रकमबाट जोगाएर एउटा क्यामेरा किनेँ । त्यहीबाट सुरु भयो, मेरो फोटोग्राफी । त्यसयता विभिन्न पुस्ता र प्रविधिका अनेक क्यामेरा र मोबाइलबाट निरन्तर फोटो खिचिरहेको छु । 

देशका सबै जिल्ला पुगेँ । अध्ययन, तालिम र मानवीय सहायताका लागि सातै महादेशका विभिन्न देशमा पुगेँ । ती स्थानहरूमा पुग्दा नबिराई फोटो खिचेको छु । विशेषत: सन् १९९३ मा हाडजोर्नी विषयमा स्नातकोत्तर डिग्री हासिल गरेयता देशभित्र स्वास्थ्य शिविर चलाउने र स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी आधारभूत तालिम दिन सुरु गरेँ । सबैभन्दा धेरै फोटो त्यसै क्रममा खिचेँ ।

सेवा दिन घुम्ने क्रममा नेपालका गाउँ र सहरको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक स्थितिको जानकारी लिन पाएँ । विभिन्न खाले स्वास्थ्य प्रणालीलाई तुलना गरेर तिनका सबल र दुर्बल पक्ष बुझ्न सहयोग गर्‍यो । यात्राका क्रममा लोकतन्त्र, शासकीय व्यवस्था र सभ्यताबारे नै तुलनात्मक अध्ययन गर्न पाएँ । शैक्षिक, राजनीतिक र सामाजिक मानक र विधिको शासनका हिसाबले पनि नेपाललाई अन्य मुलुकसित तुलना गर्ने अवसर पाएँ ।

यसबाट मलाई बोध भयो— लोकतन्त्र आएको यत्तिका दशक भइसक्दा पनि हामी नेपाली नागरिक राजनीतिक नेतृत्वबाट नराम्ररी ठगिइरहेका छौँ । यो बोधले ममा सधैँ अन्यायविरुद्ध आवाज उठाउने प्रण जन्माइदियो र नैतिक आधार पनि दियो । समाजको ठगिएको र हेपिएको तप्काका लागि आवाज उठाउनुपर्ने कर्तव्यबोध पनि भयो ।

सशस्त्र युद्धका वेला पनि देश घुमेँ । त्यस क्रममा युद्धको बीभत्स रूपलाई आफ्नै आँखाले देख्न पाएँ । दुवै पक्षका र सर्वसाधारण घाइतेलाई सेवा गर्ने मौका पाएँ । त्यस क्रममा मैले के पनि देखेँ भने युवा र बालबालिका हिंसामा लाग्न थालेका थिए । हिंसा एउटा पुस्ताका युवाको आदर्शका रूपमा स्थापित हुँदै थियो । गाउँहरूमा स्वास्थ्य शिविर मात्रै चलाइनँ, स्कुलहरूमा गएर विद्यार्थीलाई अहिंसाको महत्व र नागरिक कर्तव्यबारे पनि बताएँ । त्यसो गर्दा मैले धम्की पनि खेप्नुपर्‍यो ।

त्रिवि शिक्षण अस्पतालबाट प्राध्यापक पदबाट निवृत्त भएको पनि ६ वर्ष पुगिसकेको छ । देशभित्र र बाहिर आममानिसलाई स्वास्थ्य सेवा दिने र तस्बिर खिच्ने क्रम पनि जारी छ । राज्यका जिम्मेवार पदमा हुनेलाई खबरदारी गरिरहने जिम्मेवारी त छँदै छ । धेरैले मलाई आत्मकथा वा संस्मरण लेख्नुस् भन्छन् । तर, मलाई म आफू स्वयं प्रकाशित हुने कुरामा भन्दा नेपालको अवस्था प्रकाशित गर्ने कुरामा रुचि थियो । धेरैले मलाई अनशन (सत्याग्रह) बस्न थालेपछि चिने, तर यो किताब (डाक्टरले देखेको नेपाल) पढेपछि उनीहरूले म किन विद्रोही, आन्दोलनकारी भएँ भनेर बुझ्नेछन् । यो पुस्तकले आंशिक मात्र भए पनि नेपालको सानो चित्र देखाउनेछ भन्ने मेरो विश्वास छ । यो पुस्तक अनलाइन बुकस्टोर ‘थुप्रै’बाट किन्न सक्नु हुनेछ । ७७ वटै जिल्लाका तस्बिरहरू भएको यो पुस्तक सरकारी उच्च माध्यमिक र महाविद्यालयहरूलाई उपयुक्त प्रक्रिया पुर्‍याएर आए एकप्रति नि:शुल्क प्रदान गरिने व्यवस्था छ । 

डोटी सानागाउँमा नुहाएपछि बोरा ओढिरहेकी बालिका 

महाकाली नदीमा बनाइएको काठेबाटो

०७२को भूकम्पका वेला थुन्सेमा आफ्ना सन्तान बोक्दै गोरखाकी महिला 

हुम्लाको सिमकोटमा बारी जोतिरहेका किसान

ओखलमा अन्न कुट्दै डोल्पाली महिला

ओखलढुंगा बजारनजिकै फुलेको घन्टीफूल 

आरनमा काम गर्दै गोरखाका किशोर

बर्दियाको एक स्वास्थ्य चौकीबाट बयलगाडामा फर्किँदै एक सुत्केरी

हुम्लामा खच्चरमा दाउरा ओसार्दै

जुम्लामा काठ बोकिरहेकी महिला

सप्तरीकाे एक घर

पेरुंगोमा कुखुरा बोकेर बिक्री गर्न हिँडेका भोजपुरका किसान

म्याग्दीको कालीगण्डकी किनारमा फोहोरबाट सामग्री बटुल्दै महिला

सुझावित समाचार