भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण निलम्बनमा परेका नेकपा एमालेका मधेश प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरको निलम्बन फुकुवा भएको छ।
मधेश प्रदेश सभाले शुक्रबार जारी गरेको सूचनामा प्रदेश सभा सदस्य ठाकुरको निलम्बन अवधि कायम नरहने जनाएको छ। भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि ठाकुर २०८२ जेठ २७ गतेदेखि निलम्बनमा परेका थिए।
विशेष अदालतले माघ २५ गते उक्त मुद्दामा उनलाई सफाइ दिने फैसला गरेसँगै प्रदेश सभा सचिवालयले ठाकुरको निलम्बन फुकुवा गरेको हो। अदालतबाट सफाइ पाएपछि फैसला भएकै मितिदेखि लागू हुने गरी ठाकुर पुनः पदमा बहाल भएको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाद्वारा जारी सूचनामा मुद्दाको अन्तिम किनारा लागिसकेको र निलम्बन स्वतः समाप्त भएको जानकारी गराइएको छ।