आयल निगम कार्यालयबाटै ग्यास वितरण

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

ग्यास आपूर्ति सहज गराउन आयल निगमले टेकुस्थित पुरानो कार्यालयमा बुधबारदेखि ग्यास वितरण थालिएको छ । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्म उपत्यकामा असहज भएको नेपाल, एभरेस्ट र सुगम ब्रान्डका ग्यास बिक्रीका लागि राखिएका छन् ।

‘खाना पकाउने ग्यासको अभाव खेपिरहेका उपभोक्ताले टेकुस्थित निगमको पुरानो कार्यालय परिसर गएर तीनवटा ब्रान्डको ग्यास लिन सक्नुहुन्छ,’ उनले भने, ‘तुलनात्मक रूपले बढी असहजता देखिएका तीनवटा उद्योगका उपभोक्तालाई लक्षित गरी अस्थायी डिपो राखेका हौँ ।’ निगमले राखेको अस्थायी डिपोमा ग्यास लिन नेपाल, एभरेस्ट र सुगम ब्रान्डका खाली सिलिन्डर लिएर जानुपर्नेछ । अन्य ब्रान्डका उपभोक्ताले भने ग्यास पाउनेछैनन् ।

टेकुपरिसर ग्यास लिन पुगेका डल्लुका नारायण शर्माले बजारमा कतै ग्यास नपाएको गुनासो गरे । ‘सातादेखि ग्यास खोजिरहेका छु, तर कतै पाइएको छैन,’ उनले भने, ‘टेकुबाट बिक्री थालेको थाहा पाएपछि एउटा खाली सिलिन्डर लिएर आएको हुँ ।’

निगमले पछिल्लो समय आपूर्ति परिमाण पनि बढाइरहेको दाबी गरेको छ । एलपिजी तथा एभिएसन विभाग प्रमुख विनीतमणि उपाध्यायले ग्यास आयातको कोटा बढाएकाले चाँडै समस्या समाधान हुने अपेक्षा राखिएको बताए । ‘आयात परिमाण बढाइरहेका छौँ । त्यसैले चाँडै ग्यासको असहजता हट्ने अपेक्षा छ,’ उनले भने । करिब एक महिनादेखि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति असहज भइरहेको छ ।

See More On

सुझावित समाचार