ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालकी पूर्वअध्यक्ष पद्मिनी प्रधानांगलाई ३ प्रश्न

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

नेपालमा भ्रष्टाचारको अवस्था कस्तो छ ?
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को भ्रष्टाचारसम्बन्धी अन्तर्राष्ट्रिय सूचकांकमा आएको अंक हेर्दा नेपालको अवस्था पहिले जहाँ थियो, अहिले पनि त्यहीँ छ । टिआईका प्रमुख ६ वटा सर्वेक्षणमध्ये कुनैमा एक अंक बढेको र कुनैमा दुई अंक घटेको देखिएको छ । यसले गर्दा गत वर्षको जस्तै यस वर्ष पनि नेपालले ३४ अंक नै प्राप्त गरेको छ । तर, भ्रष्टाचार सूचकांकमा हामीभन्दा तल रहेका राष्ट्रले सुधार गरेको हुनाले हामी दुई स्थान तल झरेका छौँ । यस वर्षको जेन–जी आन्दोलनपछि बनेको सरकारले निर्वाचन तयारीबाहेक अन्य ठुला काम खासै गरेको छैन । विकास आयोजनाको बजेटसमेत कटौती गरिएको छ । त्यसले गर्दा पनि भ्रष्टाचार धेरै नदेखिएको मात्र हो । 

नेपालको भ्रष्टाचार सूचकांक किन सुध्रिन नसकेको होला ?
देशमा भ्रष्टाचार बढ्यो, सुशासन भएन भनेर जेन–जी आन्दोलन भयो । तर, आन्दोलनपछि पनि भ्रष्टाचारको अवस्थामा खासै सुधार भएको देखिएन । अन्तर्राष्ट्रिय सूचकांक हेरेर नेपालले सिक्न र आफूलाई सुधार गर्न खोजेको देखिएन । भ्रष्टाचार न्यूनीकरणमा सरकारले खासै चासो दिएको देखिन्न । विश्वसनीयता र जवाफदेहिताविना भ्रष्टाचार न्यूनीकरण सम्भव छैन । झन् राज्यका जिम्मेवार निकायका अधिकारीमाथि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को प्रश्न उठ्दा पनि नेतृत्वबाटै संरक्षण गर्ने प्रवृत्तिले गर्दा हाम्रो देशको भ्रष्टाचार सूचकांकमा सुधार आउन नसकेको हो । 

भ्रष्टाचार सूचकांकमा सुधार ल्याउन के गर्नुपर्ला ?
हामीकहाँ अधिकांश भ्रष्टाचार नीतिगत तहबाटै हुने गरेका छन् । राजनीतिक भ्रष्टाचारदेखि न्यायिक भ्रष्टाचारसमेतका विषय छन् । अख्तियारजस्ता संस्थासमेत दबाब र प्रभावमा परेका देखिन्छन् । सुधार्नुपर्ने धेरै छ । यसका लागि सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री नै भ्रष्टाचारविरुद्ध खरो रूपमा उभिन सक्नुपर्छ । 

सुझावित समाचार