बंगलादेशमा विद्यार्थी नेतृत्वको नयाँ दलको कमजोर अवस्था

चुनावी राजनीतिमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्राप्त लोकप्रियताले मात्र काम गर्दैन, अनुभव पनि आवश्यक पर्छ

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

बंगलादेशमा १२ फेब्रुअरीको चुनाव आउन अब एक साता पनि बाँकी छैन । पूर्वप्रधानमन्त्री सेख हसिनाको बहिर्गमन, उनी नेतृत्वको अबामी लिगमाथिको प्रतिबन्ध, जमात–ए–इस्लामीको तीव्र उदय र बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) खालिदा जियाविना पहिलोपटक भाग लिन लागेको यस चुनावले नयाँ परिणाम दिनेछ । अतिवादी इस्लामिक दल जमात–ए–इस्लामीले पहिलोपटक दोहोरो अंक (प्रतिशतमा) मा मत हासिल गर्ने प्रक्षेपण गरिँदै छ । उता बिएनपीले आफ्नो परम्परागत भोट बैंकसहित थप मत विस्तार गर्दै पूर्ण बहुमत हासिल गर्ने लक्ष्य राखेको छ ।

यस अंकगणितमा यसपटक जातियो नागरिक पार्टी (एनसिपी) नामक नयाँ दल पनि थपिएको छ । एनसिपी जुलाई २०२४ मा हसिनाविरोधी आन्दोलनबाट उदाएका प्रमुख विद्यार्थी नेताले गठन गरेको पार्टी हो । फेब्रुअरी २०२५ मा खुलेको यो दलले भर्खरै स्थापनाको पहिलो वार्षिकोत्सव मनायो । एनसिपी आगामी चुनावमा जमात–ए–इस्लामी नेतृत्वको इस्लामी गठबन्धनसँग गठबन्धन गरेर चुनावमा भाग लिँदै छ । धेरैको नजर आगामी चुनावमा एनसिपीले बंगलादेशी राजनीतिमा सात दशक लामो इतिहास र अनुभव बोकेको दलको हाराहारीमा उभिन सक्छ कि सक्दैन भन्नेमा छ । 

‘युवा र मर्यादाको घोषणापत्र’ नाम दिइएको एनसिपीको ३६बुँदे चुनावी घोषणापत्रले ‘हिसाब दाओ’ (जवाफदेहिता) लाई एक प्रमुख नारा बनाएको छ । पार्टीले निर्वाचित प्रतिनिधिदेखि सरकारी अधिकारीसम्मको आय र सम्पत्तिको जवाफदेहिता सुनिश्चित गर्ने वाचा गरेको छ । त्यस्तै एनसिपीले अर्थतन्त्र, व्यापार, शिक्षा र स्वास्थ्यको मजबुतीको पनि वकालत गरेको छ । यसले रोजगारी र रोजगारीसँग सम्बन्धित सामाजिक सुरक्षामा मुख्य जोड दिएको छ । 

एनसिपीले बंगलादेशको ठुलो डायस्पोरा समुदायका लागि आकर्षक प्याकेज पनि अघि सारेको छ । यसैअन्तर्गत पार्टीले ‘डायस्पोरा डिजिटल पोर्टल’को अवधारणा ल्याएको छ । पोर्टललाई विदेशबाट पठाइएको रेमिट्यान्सलाई राष्ट्रिय सेवादेखि लगानीमा जोड्ने र यसैबाट उनीहरूका लागि भविष्यमा पेन्सन सुविधा दिन सकिने उसले बताएको छ । यसपटकको चुनावमा विदेशमा रहेका करिब आठ लाख बंगलादेशी नागरिकले हुलाक मतपत्रमार्फत मतदान गरिरहेका छन् । 

मत हाल्न निवेदन दिएकामध्ये सात लाख ६६ हजार ८६२ लाई त्यहाँको चुनाव आयोगले हुलाक मतपत्र पठाइसकेको छ । तीमध्ये एक लाख ९४ हजार ९१४ मत चुनेर देशमै फर्किसकेको आयोगले बताएको छ । कुल १२ करोड ७७ लाखभन्दा बढी मतदातामा उक्त संख्या थोरै हो । तथापि, परिवारको आयस्रोत जुटाउने यो समूहले आफैँले मतदान गरेर तथा आफ्ना परिवार तथा साथीभाइको मतदान व्यवहारलाई प्रभाव पार्न सक्ने मानिएको छ । 

एनसिपी आफ्नो चुनावी घोषणापत्रमा भारतप्रति कठोर देखिएको छ । घोषणापत्रको बुँदा नम्बर ३४ मा पार्टीले भनेको छ, ‘सीमा क्षेत्रमा हुने हत्या, अन्तर्राष्ट्रिय नदीहरूको पानीको उचित बाँडफाँड, सेख हसिना र उनका दलसम्बद्धको फिर्तीलगायत असमान द्विपक्षीय सम्झौताको पुनरावलोकनसहित भारतसँग सम्बन्धित सबै मुद्दामा हामी उच्चतम कूटनीतिक र राजनीतिक स्तरमा दृढ अडान लिनेछौँ । र, आवश्यक परेमा हामी अन्तर्राष्ट्रिय संस्थामार्फत कारबाही गर्नेछौँ ।’ हसिनाविरुद्ध उठेको जुलाई विद्रोहमा हाल एनसिपीका संस्थापकको मुख्य भूमिका रहेको र उनै हसिना भारतमा रहेको सन्दर्भलाई ध्यानमा राख्दा पार्टीको यस्तो चर्को अडान आश्चर्यको विषय होइन । यद्यपि, घोषणापत्रमा चीनबारे केही उल्लेख छैन । जबकि रोहिंग्या संकट समाधान गर्ने र ‘आसियानमा सामेल हुने’लगायत दक्षिणपूर्वी एसियाली देशसँगको सम्बन्ध सुधार गर्ने विषय घोषणापत्रमा अटाएको छ । 

चुनावी घोषणापत्र हेर्दा पार्टी अनुभवको अभाव र भ्रमित नेतृत्वसँग जुधिरहेझैँ लाग्छ । स्थापनाका सुरुवातमा ठुलो समर्थन आधार र युवा–केन्द्रित नेतृत्व हुँदाहुँदै पार्टीले गत वर्ष निकै चर्चामा रहेको विश्वविद्यालय चुनावमा भाग लिएन । विश्वविद्यालय चुनावमा एनसिपीले महŒवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको थियो । विश्वविद्यालय राजनीतिबाट उदाएका नेताको बाहुल्य रहेको पार्टीले सो चुनाव बहिष्कार गर्नुलाई धेरैले अपरिपक्वता माने । उसो त लोकप्रियतालाई भोट बैंकमा रूपान्तरण गर्न सजिलो हुँदैन, विशेषगरी अझ युवा राजनीतिमा ।

त्यति वेला ढाका विश्वविद्यालय र जहाँगिरनगर विश्वविद्यालयजस्ता देशका ठुला संस्थामा जमात–ए–इस्लामीको विद्यार्थी संगठनको भारी जितले पुरानो दल बिएनपीलाई नै झस्काएको थियो । त्यस जितलाई कत्तिले चुनावी राजनीतिमा भर्खर प्रवेश गरिरहेको एनसिपीका लागि चुनौतीको रूपमा व्याख्या गरे । अहिले आगामी चुनावका लागि जमात–ए–इस्लामीको नेतृत्वमा रहेको इस्लामिक गठबन्धनसँग मिलेर एनसिपीले एक्लै लडेर सबै कुरा गुमाउने जोखिम लिनुको सट्टा साझा भविष्य खोजिरहेको हुन सक्छ । 

खासमा दक्षिण एसियाभर प्रायः सधैँ नै परम्परागत दल नयाँ शक्तिमाथि हाबी हुने गर्छन् । बंगलादेशमा पनि यस्तै परिदृश्य देखिँदै छ, जहाँ बिएनपी र जमात–ए–इस्लामीलाई नै चुनावका प्रमुख प्रतिस्पर्धी ठानिएको छ । स्पष्ट रूपमा, चुनावी राजनीतिलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्राप्त लोकप्रियताले मात्र काम गर्दैन, अनुभव पनि चाहिन्छ । एनसिपीले अहिलेका लागि जमात–नेतृत्वको गठबन्धनमा सामेल भएर केही सिट सुरक्षित गरेको हुन सक्छ, तर चुनावपछि गठबन्धन कायम राख्नु अर्को चुनौती हुनेछ । सरकारमा हुँदा होस् वा विपक्षमा गठबन्धनको राजनीति निकै पेचिलो हुन्छ । सबैभन्दा पहिले त एनसिपीले आफ्नो गठबन्धनको मुख्य दल जमातको महिलाप्रतिको रुढिवादी विचार र धर्मनिरपेक्षताविरोधी अडानको कसरी प्रतिरक्षा गर्छ भन्ने प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । 

(जवाहरलाल नेहरू विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजबाट विद्यावारिधि गरेका गुप्ता विदेश मामिलामा कलम चलाउँछन्) द प्रिन्टबाट

सुझावित समाचार