सन् १८४० : ब्रिटिस राजमुकुट र न्युजिल्यान्डका माओरी जातिका ५०० भन्दा बढी मुखियाबिच ‘वाइतांगी सन्धि’मा हस्ताक्षर भयो । सन्धिले माओरी जाति ब्रिटिस रैती हुने र माओरी जातिले उपभोग गर्दै आएको जमिनको बेलायतले संरक्षण गर्ने सामझदारी भएको थियो । यस सन्धिसँगै न्युजिल्यान्ड औपचारिक रूपमा बेलायती उपनिवेश बन्यो ।
सन् १८९९ : अमेरिकी सिनेटले शान्ति सम्झौता अनुमोदन गरेसँगै ‘स्पेन–अमेरिकाबिचको युद्ध’ अन्त्य भयो । सम्झौताअनुरूप स्पेनिस उपनिवेश क्युबा स्वतन्त्र भयो । गुआम र प्युटोरिकोमाथि अमेरिकी शासन स्थापित भयो । त्यस्तै, स्पेनको एसियाली उपनिवेश फिलिपिन्स अमेरिकालाई दुई करोडमा बेच्ने सहमतिसमेत भएको थियो ।
सन् १९५९ : अमेरिकी इन्जिनियर ज्याक विल्वीले ‘इन्टिग्रेटेड सर्किट (आइसी)’ आविष्कार गरे, जुन खोजका लागि किल्वीले सन् २००० मा गएर भौतिकशास्त्र विधामा नोबेल पुरस्कार जिते ।
सन् १९६४ : फ्रान्स र बेलायतले दुई देशलाई छुट्याएको समुद्री भाग ‘इंग्लिस च्यान’ मुनिबाट रेलको सुरुङमार्ग बनाउने सहमति जनाए ।
सन् १९६७ : कम्युनिस्ट देश अल्बानियामा सांस्कृतिक क्रान्तिको घोषणा । राष्ट्रपति एनवर होज्जाको नेतृत्वमा चलेको अभियानका क्रममा मुस्लिमबहुल यस देशका अधिकांश मस्जिद भत्काइए ।
सन् १९८९ : पोल्यान्डको सत्तारुढ कम्युनिष्ट सरकारले श्रमिक आन्दोलनका कारण देशमा बढ्दो अव्यवस्था अन्त्य गर्न भन्दै आन्दोलनका नेतृत्व गरिरहेको ‘सोलिडारिटी ट्रेड युनियन’, यसका नेता लेख वालेसालगायत विपक्षी समूहसँग गोलमेच सम्मेलन सुरु गर्यो । यो सम्मेलन सो वर्ष एप्रिल ५ सम्म चलेको थियो ।