निपाह भाइरसको जोखिममा एसिया

बुधबार, २१ माघ, २०८२
डिजिटल संस्करण
  • निपाहको प्रकोप गम्भीर समस्या भए पनि यसको कोभिडजस्तो सार्वजनिक स्वास्थ्य समस्या हुने सम्भावना भने छैन

भारतमा घातक निपाह भाइरसको प्रकोपले एसियाका धेरै देशलाई उच्च सतर्कतामा राखेको छ । यो भाइरसका कारण मानिसमा मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ । यस महिना भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसबाट कम्तीमा दुईजनाको मृत्यु भएपछि थाइल्यान्ड, मलेसिया र सिंगापुरलगायत धेरै देशले नयाँ स्क्रिनिङ र परीक्षण उपाय लागू गरेका छन् । तर, निपाह भाइरस के हो र हामी कति चिन्तित हुनुपर्छ ? यहाँ तपाईंले जान्नुपर्ने केही तथ्य छन् ।

के हो निपाह भाइरस ?
हेन्ड्रा भाइरसजस्तै निपाह पनि हेनिपाभाइरस भनिने भाइरसको श्रेणीमा पर्छ । यो जुनोटिक हो, जसको अर्थ यो जनावरबाट मानिसमा फैलिन सक्छ । एसियामा समय–समयमा यस्ता प्रकोप फैलँदै आएका छन् । पहिलो प्रकोप सन् १९९८ मा मलेसियामा रिपोर्ट गरिएको थियो । यो भाइरस सर्ने तीन प्रमुख तरिका छन् । पहिलो– चमेरोको सम्पर्कबाट हो । विशेषगरी, संक्रमित चमेरोको र्याल, पिसाब वा दिसाको सम्पर्कबाट रोग सर्छ । सुँगुरजस्ता अन्य संक्रमित जनावरसँगको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ ।

यो सर्ने दोस्रो तरिका दूषित खाना, विशेषगरी खजुरका उत्पादनबाट हो । यसको अर्थ संक्रमित चमेरोको शरीरबाट उत्पन्न तरल पदार्थले दूषित खजुरको रस सेवन गर्दा जोखिम बढ्न सक्छ । तेस्रो भनेको मानिसबाट मानिसमा सर्ने हो । बिरामी व्यक्तिको हेरचाह गर्ने तथा नजिकको सम्पर्कमा रहने मानिसमा निपाह भाइरस सर्ने रिपोर्ट गरिएको छ । घरपरिवार वा अस्पतालमा भाइरसबाट दूषित शारीरिक स्रावबाट अर्को स्वस्थ व्यक्ति संक्रमित हुन सक्ने सम्भावना बढी हुन्छ ।

के हुन् लक्षण ?
निपाह भाइरसको संक्रमण चाँडै सर्छ । संक्रमणदेखि लक्षण देखिने समय सामान्यतया चार दिनदेखि तीन सातासम्म हुन्छ । यो एक भयानक रोग हो । गम्भीर निपाह भाइरस संक्रमण भएमा लगभग आधा मानिसको यसबाट मृत्यु हुन्छ । लक्षणहरू फरक–फरक हुन सक्छन् । सबैभन्दा डरलाग्दो समस्या त यसको अर्को साइड इफेक्ट पनि हुन सक्छ । यसले निमोनिया निम्त्याउन सक्छ, जसरी कोभिडले यस्तो समस्या निम्त्याउन सक्छ । तर, हामीले सबैभन्दा बढी चिन्ता गर्ने समस्या भनेको स्नायुसम्बन्धी लक्षण हुन् । निपाहले इन्सेफलाइटिसजस्तो घातक समस्या निम्त्याउन सक्छ, जुन मस्तिष्कको संक्रमण हो । मस्तिष्कमा यी प्रभावले गर्दा मृत्युदर निकै उच्च छ । सामान्यतया निपाह भाइरस देखिँदा निम्नबमोजिमका लक्षण देखिन्छन् ।

ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, बारम्बार बेहोस हुनु, गम्भीर टाउको दुख्नु, हातखुट्टा चलाउन नसक्नु, झट्का लागेकोजस्तो महसुस हुनु, व्यक्तित्वमा परिवर्तन हुनुजस्तै अचानक अनौठो व्यवहार गर्नु वा मनोविकृति देखिनु आदि । असामान्य घटनाका रूपमा निपाह संक्रमणपछि स्वास्थ्यलाभ गरेका केही बिरामीलाई धेरै वर्षपछि (एक दशकभन्दा बढी समयपछि) पनि पुन: इन्सेफलाइटिस हुन सक्छ ।

के कुनै उपचार वा खोप छ ?
अहिलेसम्म यसको खोप छैन, तर अस्ट्रेलियामा एम १०२.४ (निपाहलाई निष्क्रिय पार्ने एन्टीबडी) नामक उपचारको विकास भइरहेको छ । सन् २०२० मा यस उपचारको पहिलो चरणको परीक्षण भएको थियो, जसले अनुसन्धानकर्ताले यसलाई स्वस्थ मानिसमा यो कसरी पुग्छ र कुनै साइड इफेक्ट छन् कि छैनन् भनेर हेर्न सहयोग गरेको थियो । परीक्षणले पत्ता लगायो कि उपचारको एक डोजलाई बिरामीले राम्रोसँग सहन सकेका थिए । त्यसैले निपाह भाइरसबाट संक्रमित मानिसलाई सहयोग गर्न वास्तवमा उपचारको उपलब्धता हुन अझै बाँकी छ, तर आशा जीवितै छ । निपाह भाइरसका लागि हाल कुनै खोप छैन । 

कति चिन्तित हुनुपर्छ ?
भारतमा निपाहको यो प्रकोप चिन्ताजनक छ, किनभने हाल यसको कुनै रोकथाम र उपचार उपलब्ध छैन । यो एक गम्भीर रोग हो । यो एक महŒवपूर्ण रोग भए पनि कोभिडजस्तै स्तरमा सार्वजनिक स्वास्थ्य समस्या हुने सम्भावना छैन । किनभने, यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्दैन । यो सर्ने मुख्य तरिका खाना र संक्रमित जनावरबाट हो । हाल संक्रमणका घटना रिपोर्ट गरिएका क्षेत्रबाहिर बस्ने मानिसका लागि जोखिम कम छ । प्रभावित क्षेत्रमा पनि यस चरणमा केसको संख्या कम छ, तर सार्वजनिक स्वास्थ्य अधिकारीले उचित नियन्त्रण उपाय अपनाइरहेका छन् ।

यदि तपाईं संक्रमित भएका क्षेत्रमा यात्रा गरेपछि अस्वस्थ हुनुभयो भने चिकित्सकलाई कहाँ र कहिले यात्रा गर्नुभयो भनेर जानकारी दिनुपर्छ । प्रभावित क्षेत्रमा यात्रा गरेपछि कसैलाई ज्वरो आयो भने हामी यस चरणमा निपाहभन्दा मलेरिया वा टाइफाइडजस्ता अन्य संक्रमणका कारणले भएको हो कि भनेर धेरै चिन्तित हुन्छौँ । समग्रमा, सबै पक्षलाई ध्यान दिनु आवश्यक छ । हामी सधैँ नयाँ भाइरस र घटनाबारे सुन्छौँ । प्रभावित देशका लागि निपाह महŒवपूर्ण छ, तर ती देशबाहिर, यो केवल हामीले नजिकबाट निगरानी गर्ने र सतर्क रहने विषय हो ।

(चेङ मोनास युनिभर्सिटीका संक्रमित रोगसम्बन्धी प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट

सुझावित समाचार