ग्यास आपूर्ति सहज गर्न आयल निगमलाई विभागको निर्देशन

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न आयल निगमलाई निर्देशन दिएको छ ।

सोमबार दिउँसो विभागमा भएको छलफलमा महानिर्देशक रोशन ज्ञवालीले बजारमा तत्कालै उपभोक्ताले महसुस गर्ने गरी ग्यास आपूर्ति सहज गर्न सबै संयन्त्र प्रयोग गर्न निर्देशन दिएका हुन् । आपूर्ति शाखा निर्देशक नरहरि तिवारीको कार्यकक्षमा आयल निगमको एलपिजी तथा एभिएसन विभागमा कार्यरत प्रबन्धक दुर्गा पछाईसहित छलफल भएको थियो ।

सो छलफलमा निगमका प्रबन्धक पछाईले भारतले कोटाअनुसार नै ग्यास दिइरहेको, तर उद्योगीले मागअनुसार पिडिओ उठाउन नसकिरहेको जानकारी गराएकी थिइन् । बर्सेनि जाडो मौसममा भारतको बरौनी रिफाइनरी सफाइ हुने हुँदा त्यहाँबाट तुलनात्मक रूपमा थोरै पिडिओ जारी हुने गर्छ ।

त्यसैकारण अहिले पनि बजारमा ग्यास आपूर्तिमा केही असजहता देखिएको निगमको भनाइ छ । तर, बरौनी रिफाइनरीमा मर्मत सकिएर अहिले मागअनुसार नै पिडिओ जारी भइरहेकाले चाँडै समस्या समाधान हुने पछाईले छलफलमा जानकारी गराएकी थिइन् ।

निर्देशक तिवारीले ग्यास आयात, वितरण र डिलरकहाँ रहेको मौज्दात विवरणको निगमले आफ्नो संयन्त्रमार्फत निगरानी बढाउनुपर्ने बताएका थिए । ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापाले उद्योगबाटै मागअनुसार ग्यास नपाएकाले उपभोक्तालाई सहजै वितरण गर्न नसकिएको बताए । ‘आयल निगम र उद्योगी मिलेर अहिलेको असहजतालाई समाधान गर्नुपर्छ,’ उनले भने ।

See More On

सुझावित समाचार