बर्दियाको गुलरिया नगरपालिकाभित्र बसोबास गर्ने करिब ५८ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गुलरिया नगरपालिकाभित्र बसोबास गर्ने ५७.६३ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको पाइएको हो ।
भौगोलिक हिसाबले हेर्दा गुलरिया सुगम छ। जिल्लाका महत्त्वपूर्ण कार्यालयहरू यहीँ छन् । मकै, केरा, तरकारी, गहुँ, बदाम, तोरीलगायत नगदे बाली उत्पादन हुन्छ। पालिकाले बर्सेनि गरिबी निवारणका लागि कृषि उत्पादन बढाउने भन्दै कृषि सामग्री वितरण गर्छ । तर, राष्ट्रिय तथ्यांक कार्यालय सार्वजनिक तथ्यांक हेर्दा गुलरिया नागरिक आर्थिक रूपमा निकै कमजोर देखिन्छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सबैभन्दा धेरै गरिब भएको स्थानीय तहको छैटौँ नम्बरमा गुलरिया नगरपालिका परेको छ । पालिकाले आर्थिक आयआर्जनको काममा भन्दा बढी भौतिक निर्माण र सचेतनामूलक कार्यक्रममा खर्च गरेको पाइन्छ ।
पालिकाभित्र बसोबास गर्ने ७४ हजार ५०३ जनाजनामध्ये ४२ हजार ९३६ जना (५७.६३ प्रतिशत) अहिले पनि गरिब रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बर्दिया सबैभन्दा बढी गरिब भएको जिल्लाको आठौँ नम्बरमा पर्छ । अहिले बर्दियामा चार लाख ५७ हजार ६१० जना मानिस बसोबास गर्दै आएका छन् । जसमध्ये एक लाख ८२ हजार ८९३ जना अझै पनि गरिबी रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ ।