भिसा प्रमाणीकरण शुल्क भारले घट्न थाले युएई जाने श्रमिक

चालू आवको साउनमा २३ हजार ८३४ नेपाली युएई गएका थिए, ६ महिनापछि पुसमा घटेर नौ हजार ५१७ मा सीमित

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

युएईले भिसा प्रमाणीकरण शुल्कबापत १४ हजार दुई सय रुपैयाँ असुल्न थालेपछि नेपाली श्रमिकहरू अन्य देशतर्फ मोडिन थालेका छन् । उक्त शुल्क बुझाउँदासमेत भिसा पाउने ग्यारेन्टी नभएपछि तीन महिनायता सबैभन्दा बढी साउदी अरब जाने श्रमिकका लागि श्रम स्वीकृति जारी भएको छ ।

युएईले आधिकारिक रूपमा भने भिसा प्रमाणीकरण शुल्क लिएको जानकारी सरकारी निकायलाई गराएको छैन । तर, नेपालस्थित युएईको दूतावासले श्रमिकको प्रहरी रिपोर्टमा छाप नलगाएको आवेदन रद्द गर्दै आएको छ । श्रमिकको प्रहरी रिपोर्टमा छाप लगाउन दूतावासलाई १४ हजार २ सय रुपैयाँ बुझाएको भौचर आवश्यक पर्ने म्यानपावर व्यवसायीहरूले बताएका छन् । भिसा प्रमाणीकरणका लागि १४ हजार दुई सय बुझाउनुपर्ने व्यवस्थाप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन् । उनीहरूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत भिसाशुल्क खारेजीका लागि पहल लिन आग्रह गरे पनि सुनुवाइ भएको छैन ।

जेन–जी आन्दोलनपछि युइईले नेपाली श्रमिक आपूर्तिमा कडाइ गरेको छ । २३ र २४ भदौको जेन–जी आन्दोलनलगत्तै युएईले नेपाली कामदार लिन बन्द गरेको थियो । तर, व्यवसायी र सरकारको दबाबपछि प्रहरी प्रतिवेदन लिएर कामदार लिने गरी केही खुकुलो नीति लिएको छ । 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले भिसा प्रमाणीकरण शुल्क हटाउन पहलकदमी नलिए युएईको रोजगारी संकटमा पर्ने बताए । ‘२५ पुसमा संघ अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको टोलीले परराष्ट्रमन्त्री बालानन्द शर्मालाई ध्यानाकर्षणपत्र बुझाएको थियो । त्यसक्रममा मन्त्री शर्माले कूटनीतिक माध्यमबाट समस्या समाधानको पहल लिने आश्वासन दिएका थिए । श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भने भिसाशुल्क लिनेबारे युएईबाट आधिकारिक केही जानकारी नआएको बताए ।

१८ मंसिरदेखि प्रमाणीकरण शुल्क लागू
जेन–जी आन्दोलनलगत्तै नेपाली कामदार आपूर्ति रोकेको युएईले व्यवसायी र सरकारको दबाबमा पुलिस रिपोर्टका आधारमा लैजाने गरी केही खुकुलो बनाएको थियो । १८ मंसिरदेखि भने नेपाली कामदार आपूर्तिमा थप कडाइ गर्ने गरी १४ हजार पाँच सय रुपैयाँ भिसाशुल्क लिन थाल्यो । केही दिनमा तीन सय रुपैयाँ घटाएर प्रतिश्रमिक १४ हजार दुई सय रुपैयाँ भिसा प्रमाणीकरण शुल्क लिइरहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए । ‘अहिले युएईले गरिरहेको अभ्यास अन्य देशले पनि लागू गर्न खोजे भने नेपाली श्रमिकमाथि ठुलो आर्थिक भार पर्छ । त्यो समय आउनुअगावै समस्या समाधान हुनुपर्छ भनेर सरकारलाई बारम्बार ध्यानाकर्षण गराइरहेका छौँ,’ उनले भने ।

युएई जाने श्रमिक ह्वात्तै घटे
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ साउनमा २३ हजार आठ सय ३४ श्रमिक युएई गएका थिए । भदौमा थप बढेर २५ हजार दुई सय १८ युवाले युएईले श्रम स्वीकृति लिएका थिए । तर, भदौमा भएको जेन–जी आन्दोलनपश्चात् युएईले नेपाली श्रमिक आपूर्तिमा कडाइ गरेकाले असोजदेखि युएई जाने श्रमिको संख्या ओरालो लागेको छ । असोजमा १८ हजार चार सय ४६, कात्तिकमा १३ हजार तीन सय ९९, मंसिरमा नौ हजार तीन सय ८२ र पुसमा नौ हजार पाँच सय १७ ले युएईको श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । 

See More On

सुझावित समाचार