संखुवासभाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्। हिजाे (मंगलबार) जिल्ला प्रशासन कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको ‘प्रतिनिधिसभा निर्वाचन २०८२ को आचारसंहितासम्बन्धी कार्यक्रम’मा संखुवासभाका राजनीतिक दलहरूले पूर्ण रूपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीले निर्वाचन आयोगले निर्दिष्ट गरेका आचारसंहिताबारे
सरोकारवालाहरूलाई जानकारी गराएका थिए। उनले उम्मेदवारहरूले निश्चित मापदण्डभित्र रहेर खर्च गर्नुपर्ने, उम्मेदवारले बैंक खाता खोलेर खर्च गर्नुपर्ने, प्रचारप्रसारका ब्यानर तथा फ्लेक्सहरू र झन्डा, आमसभा तथा भेलामा २५ जनाभन्दा बढी सहभागी हुन नपाउनेलगायतका नियम–कानुनबारे राजनीतिक दलहरूलाई स्पष्ट पारेका थिए ।
त्यसैगरी कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले कुनै पनि कर्मचारी तथा शिक्षकहरूले राजनीतिक दलको पक्ष वा विपक्षमा संलग्न भई प्रचारप्रसार गर्नु नहुने र गरेको प्रमाणित भएमा कानुनअनुसार कारबाही गरिने स्पष्ट प्रावधान रहेको बताए । शान्त, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै तयारी अघि बढिसकेकाले आचारसंहिता र नियमकानुनभित्र रहेर चुनाव प्रचारप्रसार गर्न दलहरूलाई मुख्य निर्वाचन अधिकृत कोइरालाले आग्रह गरे।
कुनै पनि मानिसहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइएमा श्रव्यदृश्य सामग्री उपलब्ध गराए तुरुन्तै कानुनअनुसार कारबाही गरिने मुख्य निर्वाचन अधिकृत कोइरालाको भनाइ छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुने दलहरूलाई आश्वासन दिइन् । उनले गत भदौ २३ र २४ गते भागेका कैदीबन्दी र लुटिएका हातहतियारबारे कुनै शंका नगर्न आग्रह गर्दै जिल्लाको सुरक्षा व्यवस्था तैनाथ भएकाले शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न हुने बताइन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट मनोनयन दर्ता गराएका १५ वटा राजनीतिक दल र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै कसैले आचारसंहिता तोडेको पाइएमा कडा कारबाही गर्न अनुरोध गरेका थिए ।
संखुवासभामा नेपाली कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, नेकपा एमालेबाट डा. अर्जुनकुमार कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापा खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिंमा शेर्पा चुनावी प्रचारप्रसारमा व्यस्त छन् भने त्यसैगरी श्रम संस्कृति पार्टीबाट उमादेवी राई, नेपाल मजदुर किसान पार्टीबाट राजकुमार लघु, मंगोल अर्गनाइजेसनबाट देवेन्द्र रिल्ली घले, नेकपा (माओवादी)बाट पुष्पबहादुर कोइराला, जसपा नेपालबाट भरतकुमार राई (याख्या), नेपाल जनमुक्ति पार्टीबाट केशरसिं राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रनमाया राई, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट कृष्णबहादुर राई, राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम वालिङ राई, राष्ट्रिय जनमोर्चा पार्टीबाट हेमकुमार गुरुङ र राप्रपा नेपालबाट पदमबहादुर तामाङ चुनावी अभियानमा नै रहेका छन् ।
संखुवासभामा मादी नगरपालिका– ४ का वासुदेव दाहालले संघीय प्रतिनिधिका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।संखुवासभामा एक लाख १९ हजार ६३० जना कुल मतदाता संख्या रहेको छ भने १०९ वटा मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् ।