नेपालको सार्वजनिक कूटनीति र भावी कदम

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण
  • महाशाखाका रूपमा विकसित भई सार्वजनिक कूटनीति नेपालको परराष्ट्र सम्बन्ध तथा मामिलामा संस्थागत हुँदै गएको छ

करिब सात महिनाअगाडि यसै दैनिकमा नेपालको सार्वजनिक कूटनीति र आगामी कार्यदिशासम्बन्धी अग्रलेख प्रकाशित भएको थियो । सो लेखमा नेपालले सार्वजनिक कूटनीतिका सम्बन्धमा गरेका प्रयासलाई समेट्ने प्रयास गरिएको थियो । सार्वजनिक कूटनीतिको विकासक्रमलाई पुरानो, बिचको र नयाँ मार्गका रूपमा तीन चरणमा व्याख्या गर्ने गरिन्छ । विशेषगरी, शीतयुद्धको समयमा एकपक्षीय रूपमा सम्प्रेषण गरी प्रोपगान्डाका रूपमा यसलाई प्रयोग गरियो । यसमा संयुक्त राज्य अमेरिका र सोभियत युनियनले आआफ्ना स्वार्थलाई एकपक्षीय रूपमा विदेशी आममानिससम्म पुर्याउन प्रयोग गर्थे । यसमा दोहोरो संवाद तथा अन्तक्र्रियाको सम्भावना हुँदैनथ्यो । अर्को भनेको बिचको माध्यम हो, जुन विश्व राजनीति शीतयुद्धको अन्त्यसँगै विश्व एक धु्रवमा परिणत भएपछिको पहिलो दशकलाई लिइन्छ । विशेषगरी, राज्यभन्दा बाहिरका तत्व, नागरिक समाज तथा गैरसरकारी संस्थासँग पनि हातेमालो गरेर सार्वजनिक कूटनीति सञ्चालन गर्नुपर्ने सो समयमा इन्टरनेटको आविष्कार र विश्वव्यापी आबद्धता बढ्दै थियो ।

नयाँ मार्ग विशेषगरी सन् २००० पछिको समयलाई लिइन्छ । सूचना तथा सञ्चारको क्षेत्रमा आएको आमपरिवर्तन र सामाजिक सञ्जालको भूमिकालाई विशेष रूपमा लिइन्छ । नयाँ सार्वजनिक कूटनीति पनि भनियो केही समय, तर पुन: डिजिटल माध्यम प्रयोग गरे पनि सार्वजनिक कूटनीतिको कार्य भएकाले नयाँ सार्वजनिक कूटनीति नामकरण लामो समय टिकेन । यस क्षेत्रका विज्ञले पुन: ‘सार्वजनिक कूटनीति’ शब्दावली नै प्रयोग गर्दै आएका छन् । आज आम सामाजिक सञ्जालजस्तो फेसबुक, एक्स, विच्याट, विइबो, लिङ्क्डइनलगायतले यथासमयमा सार्वजनिक कूटनीतिका कार्यक्रमको अनुगमन तथा प्रभावकारिताको मापनसमेत गर्न सकिने बनेको छ । जसलाई नयाँ मार्ग भन्ने गरिन्छ । त्यस्तै, विद्वान्द्वय कोवेन र अरसेनउल्टले सार्वजनिक कूटनीतिको समग्र विकासक्रमलाई तीन चरण क्रमश: एकपक्षीय संवादको चरण, दोहोरो संवादको चरण र नेटवर्क साझेदारीको चरण गरी व्याख्या गरेका छन् । अहिलेको सार्वजनिक कूटनीति सञ्चालन नेटवर्क साझेदारीका रूपमा रहेको भनी उल्लेख गरेका छन् ।

नेपालका सन्दर्भमा कुरा गर्दा सन् २०१५ मा भएको परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणले नीति योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाअन्तर्गत सार्वजनिक तथा सांस्कृतिक कूटनीति शाखा स्थापना गरेको थियो । जसले गर्दा सर्वप्रथम सार्वजनिक कूटनीतिले संस्थागत रूप लियो । नेपालको परराष्ट्र नीति, २०२० मा उल्लिखित आठवटा मुख्य उद्देश्यमध्ये नेपालको सौम्य शक्तिको प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने सार्वजनिक कूटनीतिसम्बन्धी नीतिलाई कार्यान्वयन गर्न २२ वटा रणनीति तथा कार्यनीति तय गरिएको छ । 

सार्वजनिक कूटनीतिको बढ्दो विश्वव्यापी लोकप्रियता र सौम्य कूटनीतिको प्रभावकारी कार्यान्वयन गर्ने माध्यम बनेकाले नेपाल सरकारले सन् २०२४ मा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी नयाँ सार्वजनिक कूटनीति महाशाखा नै स्थापना गरेको छ । सो महाशाखाअन्तर्गत दुईवटा शाखा क्रमश: सांस्कृतिक कूटनीति शाखा र सूचना तथा प्रकाशन र सम्मेलन शाखा रहेका छन् । यसरी छुट्टै महाशाखाका रूपमा विकसित भई सार्वजनिक कूटनीति नेपालको परराष्ट्र सम्बन्ध तथा मामिलामा संस्थागत हुँदै गइरहेको छ । सार्वजनिक कूटनीति महाशाखा प्रमुखले नै मन्त्रालयको प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गर्ने व्यवस्था रहेकाले पनि मन्त्रालयको पब्लिक फेसका रूपमा समेत रहेको छ । 

सार्वजनिक कूटनीति महाशाखाले नै यदुनाथ खनाल प्रवचन शृंखला आयोजना गर्ने, सगरमाथा संवाद आयोजना गर्ने, विदेशस्थित नेपालका चार दर्जनभन्दा बढी कूटनीतिक नियोगले आयोजना गर्ने सार्वजनिक कूटनीतिका कार्यक्रमको अनुगमन गर्ने, नेपाल सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमअन्तर्गत रहेर आवश्यक निर्देशन दिने, सार्वजनिक कूटनीतिसम्बन्धी आवश्यक नीति–नियम तर्जुमा गर्ने, वार्षिक सार्वजनिक कूटनीतिसम्बन्धी कार्यक्रम तर्जुमा गर्नेलगायत महत्वपूर्ण जिम्मेवारी रहेका छन् ।

११ पुस, ०८२ मा पदवहाली गर्नुहुँदै नवनियुक्त परराष्ट्रमन्त्रीको पहिलो निर्णय नै सार्वजनिक कूटनीतिसम्बन्धी औपचारिक सामाजिक सञ्जाल ह्यान्डल खोली नेपालको छवि, कला, संस्कृति, ऐतिहासिक तथा सभ्यता सम्पदाको प्रवद्र्वनका लागि डिजिटल प्लाटफर्मका रूपमा अगाडि बढाउनेसम्बन्धी रहेको छ । जुन ह्याडल हाल प्रभावकारी रूपमा कार्यान्वयनमा आएको छ ।     

त्यसैगरी, परराष्ट्रमन्त्रीले विदेशस्थित नेपाली राजदूत तथा नियोग प्रमुखलाई २५ पुस ०८२ मा सम्बोधन गर्दै नेपालको राष्ट्रिय कला, संस्कृति तथा मूल्य–मान्यताको प्रवर्द्धन गरी मुलुकको सौम्य शक्तिमार्फत आपसी सद्भाव बढाउनु अत्यन्त आवश्यक रहेको कुरा बताउनुभएको थियो भने डायस्पोरा कूटनीतिमार्फत मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजीको उल्लेख्य सम्भावनालाई साकार पार्नुपर्ने विषयमा पनि विशेष जोड दिनुभएको थियो । यी सबै प्रयास सार्वजनिक कूटनीतिभित्रै पर्ने विषय हुन् र नेपालजस्तो मुलुकका लागि सौम्य शक्तिको परिचालन गर्ने अति महत्वपूर्ण र उपयोगी कूटनीतिक माध्यम हो ।

यही २ माघ, ०८२ मा भएको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ कार्यशालामा परराष्ट्र सचिवले सम्बोधन गर्दै सार्वजनिक कूटनीतिका माध्यमबाट विदेशी आममानिसको मन र मुटु जित्नुपर्नेमा जोड दिनुभएको छ । साथै, उनीहरूलाई नेपालको प्रकृति, जीवन्त सांस्कृतिक सम्पदा तथा पवित्र र ऐतिहासिक पहिचान बोकेका नेपाली नागरिक हाम्रा प्रामाणिक सम्पत्ति भएकाले प्रभावकारी रूपमा ‘स्टोरी टेलिङ’ गर्नुपर्ने बताउनुभएको थियो ।

सन् १९६४ मा अमेरिकी कूटनीतिज्ञ तथा फ्लेचर स्कुल अफ ल एन्ड डिप्लोम्यासीका प्राध्यापक इडवाड गुलियनले सर्वप्रथम सार्वजनिक कूटनीति भन्ने शब्दको प्रयोग गर्दै यसलाई परिभाषित गर्नुभयो । सन् ८० को दशकमा अमेरिकाको विदेश मन्त्रालयले यसलाई अमेरिकी विदेश नीतिमा समेत व्यवहारमा लागू गरेपछि सौम्य शक्तिको प्रयोग र महत्व बढ्दै गयो । त्यसपछि मात्र सार्वजनिक कूटनीतिले लोकप्रियता हासिल गर्दै गएको हो । हाम्रै सार्क क्षेत्रका कतिपय मुलुकले नियोगमा सार्वजनिक कूटनीति हेर्ने छुट्टै कूटनीतिज्ञ तोकेका पनि छन् । त्यस्तै, यो मामिला हेर्न विदेश मन्त्रालयमा छुट्टै उच्चस्तरीय संयन्त्र पनि छन् ।

ढिलै भए पनि नेपालले सार्वजनिक कूटनीतिको महत्वलाई हृदयंगम गरी पछिल्ला दिनमा सार्वजनिक कूटनीतिकेन्द्रित कार्यक्रम सञ्चालन गर्ने र सार्वजनिक कूटनीतिलाई हाम्रो परराष्ट्र नीति तथा कार्यक्रममा मूलप्रवाहीकरण गरिरहेको छ । पछिल्ला मन्तव्य तथा नियोगका क्रियाकलापलाई समेत अध्ययन गर्दा नेपालको सार्वनजिक कूटनीतिले आकार लिँदै गएको महसुस हुन थालेको छ । जस्तो– अमेरिकास्थित नेपालको स्थायी नियोगले विश्व ध्यान दिवसका अवसरमा जीवन विज्ञानसँग सहकार्य गरी संयुक्त राष्ट्र संघको मुख्यालयमा महत्वपूर्ण कार्यक्रम आयोजना गरेको थियो भने न्युयोर्कस्थित नेपालको कन्सुलेटले पनि नेपाली डायस्पोरा र जीवन विज्ञानको सहकार्यमा यससम्बन्धी कार्यक्रम आयोजना गरेको थियो ।

नयाँदिल्लीस्थित नियोगले नेपालसम्बन्धी ‘आर्ट’ प्रतिस्पर्धा आयोजना गरेको विषय सामाजिक सञ्जालमार्फत जानकारी गराएको थियो । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । हाम्रा विदेशस्थीत नियोगले वर्षैभरि विविध प्रकारले सार्वजनिक कूटनीतिसम्बन्धी कार्यक्रम गरिरहेकै हुन्छन् । सार्वजनिक कूटनीति महाशाखाले मन्त्रालय तथा नियोगले गरेका सार्वजनिक कूटनीतिसम्बन्धी कार्यक्रमका समग्र वार्षिक विवरण तयार गरी प्रकाशन गर्न सकेको खण्डमा अध्ययन, अनुसन्धान र आगामी दिनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि यस विषयका विज्ञबाट समेत पृष्ठपोषण प्राप्त गर्न सहज हुने देखिन्छ । त्यसैगरी, बढ्दो सार्वजनिक कूटनीतिको लोकप्रियता एवं प्रभावकारितालाई मनन गरी छुट्टै बजेट शीर्षकअन्तर्गत बजेट प्रबन्ध गर्नसमेत उचित पहल गर्दै जानुपर्ने पनि देखिन्छ ।

अर्कोतर्फ ढिलो नगरी सार्वजनिक कूटनीतिसम्बन्धी रणनीति तय गरी सोहीबमोजिम एकीकृत रूपमा विदेशस्थित नेपाली नियोगले सार्वजनिक कूटनीतिसम्बन्धी गतिविधि सञ्चालनार्थ मार्गनिर्देश गर्न पनि उत्तिकै जरुरी देखिन्छ । अहिलेको सार्वजनिक कूटनीति नेटवर्क तथा साझेदारीमा आधारित भएकाले सम्बद्ध सबै पक्षसँग सहकार्य गरेर यससँग सम्बन्धित क्रियाकलाप गर्नु अर्को महत्वपूर्ण पक्ष हो । जस्तो, यो विषय सञ्चार विधाअन्तर्गतको एजेन्डा सेटिङ सिद्धान्तसँग एकदमै नजिक रहेकाले स्वदेशी तथा विदेशी आम सञ्चारसँग उचित तालमेल गर्नुपर्ने पनि उत्तिकै जरुरी देखिन्छ ।

(पौडेल परराष्ट्र मन्त्रालयका उपसचिव हुन्)

सुझावित समाचार