नेपालको विश्वकप खेल्ने सपना अधुरै

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण
नेपालको विश्वकप खेल्ने सपना अधुरै

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

स्कटल्यान्डसँग समूह ‘बी’को निर्णायक खेलमा ७२ रनले पराजित हुँदा घरेलु टोली नेपालको आइसिसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरै रहेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको ग्लोबल छनोटमा नेपालले तेस्रो हार व्यहोरेसँगै सुपरसिक्सबाट आउट भएको हो।

नेपालले पहिलोपटक विदेशी प्रशिक्षक भित्र्याउँदै विश्वकप खेल्ने सपना बनाएको थियो। तर, भारतीय प्रशिक्षक हर्षल पाठकले पनि यो योजना सफल बनाउन सकेनन्।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदा १४१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १३.४ ओभरमा अलआउट हुँदा मात्र ६८ रन बनाउन सक्यो।

प्रतियोगिताको समूह ‘बी’मा तेस्रो हार व्यहोरेपछि नेपालको इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप खेल्ने सम्भावना सकिएको छ। नेपालको हारसँगै समूह ‘बी’मा नेदरल्यान्ड्ससँगै विजयी भएको स्कटल्यान्ड र एक खेलअघि नै थाइल्यान्ड पनि सुपरसिक्समा प्रवेश गरेका छन्। यसअघि नै समूहबाट जिम्बावे पनि बाहिरिएको थियो।

यसअघि नेपाल थाइल्यान्डसँग आठ विकेट तथा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले जिम्बावेलाई ६ विकेटले हराएको थियो।

समूहमा नेदरल्यान्ड्स र स्कटल्यान्ड्सकाे समान ६ अंक छ। अब, थाइल्यान्डले नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ। थाइल्यान्डको चार अंक छ। नेपालको दुई अंक रहँदा जिम्बावेले कुनै अंक जोड्न सकेन।

नेपालको लागि ओपनर विन्दु रावलले १३ बलमा १४ रन बनाउनुबाहेक रुविना क्षेत्रीले १० रन बनाइन्। यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यसअघि पहिलो इनिङ्समा नेपालको लागि  स्पिनर मनीषा उपाध्यायले  सर्वाधिक चार विकेट लिएकी थिइन्। प्रतियोगितामा पहिलोपटक अवसर पाएकी मनीषाले पावरप्लेमै तीन विकेट लिएकी थिइन्। स्कटल्यान्डले ११.४ ओभरमा ६ विकेट गुमाउँदा मात्र ७९ रन बनाएको थियो।

तर, त्यसपछि स्कटल्यान्डका लागि  प्रियांनज चटेर्जीले सर्वाधिक ४५ रन बनाउँदै प्रतिस्पर्धात्मक स्कोर खडा गरेकी थिइन्। ऐल्सा लिस्टनले २२ रन जोडिन्। मेगन म्याककलले १७ तथा सरा ब्राकीले २२ रन जोडिन्।

नेपालको लागि मनीषाले चार विकेट लिँदा पूर्वकप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। मनीषाले चार ओभरमा मात्र १७ रन खर्चिएकी थिइन्। रुविनाले २३ रन खर्चिएर तीन विकेट लिइन्। रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिइन्।

सुझावित समाचार