प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई पूर्ण रूपमा शान्तिपूर्ण, सुरक्षित र भयरहित बनाउने सरकारको स्पष्ट प्रतिबद्धता दोहोर्याएकी छन्। उनले निर्वाचनका क्रममा रगतको एक थोपा पनि नबग्ने र कसैलाई चोट नलाग्ने अवस्था सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी छिन्।
शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले बदलिँदो समयसँगै सुरक्षा चुनौतीहरू पनि जटिल बन्दै गएको उल्लेख गरिन्। यसलाई ध्यानमा राख्दै सरकारले निर्वाचनलक्षित सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरिसकेको उनले जानकारी दिइन्।
प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरूमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्भावित जोखिमहरूको सूक्ष्म विश्लेषण गरी उच्च सतर्कता र व्यावसायिकताका साथ काम गर्न निर्देशन दिइन्।