दार्चुलामा सबै दलले उम्मेदवार टुंग्याए, उम्मेदवारी दर्ताको तयारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलामा क्रियाशील सबै राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीका अनुसार बिहान ११ बजे राष्ट्रिय जनमोर्चा पार्टी, १२ बजे नेपाली कम्युनिस्ट पार्टी, १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी, २ बजे नेकपा एमाले, ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, ४ बजे नेपाली कांग्रेस र बिहान १० बजेदेखि बेलुकी ५ बजेको समयमा स्वतन्त्र र अन्य उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने गरी समय निर्धारण गरिएको छ । दलहरूलाई एक–एक घण्टाकाे फरक समयमा उम्मेदवारी मनोनयन गर्नेछन् ।

दार्चुलाबाट पहिलोपटक नेपाली कांग्रेसले अन्तिम समयमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । ०४८ सालदेखि प्रायः उम्मेदवार बनेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसले नयाँ उम्मेदवार छनोट गरेको हो । नेपाली कांग्रेसले संयुक्त राष्ट्र संघ (युएन) मा कार्यरत शैल्यशिखर नगरपालिका– ८ का धर्मानन्द जोशीलाई पहिलोपटक उम्मेदवार बनाएको नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । उम्मेदवार सिफारिसमा जोशीसँगै कांग्रेस दार्चुलाका पूर्वसचिव हरकसिंह विष्ट र मालिकार्जुन गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्रसिंह धामी, महाधिवेशन प्रतिनिधि गणेशराज भट्टको नाम पनि सिफारिस गरिएको थियो। तर, कतिपय कांग्रेसका नेता कार्यकर्ताले जोशीले उम्मेदवार टिकट पाएपछि पर्यटक नेता भन्दै आलोचना गरेका छन् । 

यसअघि दार्चुलाबाट कांग्रेसका बडू २०४८, २०५६, र २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भएका थिए भने ०७४ सालमा समानुपातिक सांसद बनेर संसद् छिरेका थिए । राज्यमन्त्री हुँदै पटकपटक मन्त्री भएका बडूले २०५१, २०६४ र २०७४ सालको निर्वाचन पराजय भोगेका थिए । ६ पटक निर्वाचन लडेका बडूले यसपटक कांग्रेस विधान महाधिवेशनमा देखिएको विवादका कारण उम्मेदवार नबन्ने घोषणा गरेपछि नयाँ अनुहारलाई उम्मेदवार बनाएको हो । 

यस्तै, नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले दार्चुलाले ठगुन्नाको एकल नाम सिफारिस गरेको थियो । जिल्लाकै सिफारिसको आधारमा ठगुन्नाले उम्मेदवार बनेको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए।०६४ सालदेखि संसदीय राजनीतिमा प्रत्यक्ष उम्मेदवार बनेका ठगुन्ना ०७० सालको दोस्रो संविधानसभा निर्वाचन र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए भने ०६४ को पहिलो संविधानसभा निर्वाचन, ०७९ सालको निर्वाचनमा भने उनी पराजित भएका थिए । ठगुन्नालाई अहिले नेकपा एमालेले सुदूरपश्चिम प्रदेश निर्वाचन संयोजक बनाएर पठाएको छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाले ०६४ सालका संविधानसभामा सदस्यमा लक्ष्मणदत्त जोशीलाई पुनः उम्मेदवार बनाएको छ । पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएपछि दोस्रोपटक उम्मेदवार बन्ने अवसर नपाएका जोशीले १८ वर्षपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार सिफारिस भएका हुन् । 

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका जोशी महाकाली नगरपालिका– ५ का बासिन्दा हुन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले ललितसिंह ठगुन्ना प्रवीणलाई उम्मेदवार बनाएको थियो। 

यस्तै, ०७४ सालमा नेकपा एमाले र ०७९ सालमा नेपाली कांग्रेससँग गठबन्धन भएका कारण नेकपा माओवादीले केन्द्रीय उम्मेदवार पाएको थिएन। दार्चुलामा नेकपा माओवादीले हालको नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्नमा नौ वर्षपछि भोट हाल्न पाउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाबाट प्रत्यक्षतर्फ राजेशसिंह सामन्तलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघबाट राजनीतिमा प्रवेश गरेका सामन्त शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष तथा राष्ट्रिय मावि दत्तुका प्रधानाध्यापक थिए । 

स्वास्थ्यका कारण शिक्षण पेसाबाट राजीनामा दिएका सामन्त करिब दुई महिनाअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका थिए। रास्वपमा जोडिएपछि उनलाई जिल्ला सभापति बनाएको छ। एक महिना संगठन विस्तार अभियान चलाएका सामन्तलाई रास्वपाले प्रतिनिधिसभा उम्मेदवार बनाएको हो । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लेकम गाउँपालिका– ३ घर भएका नेपाली सेनाका सेवानिवृत्त महासेनानी (कर्नेल) राजेश चन्दलाई उम्मेदवार बनाएको छ । राप्रपा दार्चुलाले जिल्लाबाट अन्य उम्मेदवार सिफारिस गरी पठाएकोमा केन्द्रले चन्दलाई उम्मेदवार बनाएर पठाएको हो । 

यसपटक पहिलोपटक संसदीय निर्वाचनमा भाग लिन लागेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुला जिल्ला इन्चार्ज नवराज भट्टलाई उम्मेदवार बनाएको छ । मार्मा गाउँपालिका– ३ निवासी भट्ट युवा पुस्ताका प्रतिनिधि हुन् र पेसाले इन्जिनियर हुन् । यस्तै, नेकपा संयुक्तले विद्या जोशीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय जनमोर्चाले बिर्खराज पन्तलाई उम्मेदवारका रूपमा अघि सारेको छ । 

सुझावित समाचार