निर्वाचन आयोगले दिएको उजुरीका आधारमा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पोखरामा पक्राउ गरेको हो।
नेपाली कांग्रेसको आधिकारिता विवादमा उनले आयोगमाथि गम्भीर आरोप लगाएका थिए। सो विषयमा आयोगले उनीमाथि छानबिन गर्न प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो। सोही आधारमा उनी पक्राउ परेका हुन्।
कास्की प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा जरुरी पक्राउ पूर्जी दिएर उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि काठमाडौं पठाइने डिएसपी हरिबहादुर बस्नेतले बताए।
प्रसाईंविरुद्ध यसअघि दुईपटक साइबर अपराधको मुद्दा दायर भइसकेको छ।