नोबेल पुरस्कारमाथिको भद्दा मजाक

आइतबार, ४ माघ, २०८२
डिजिटल संस्करण
  • आफूले पाएको नोबेल पदक ट्रम्पलाई हस्तान्तरण गरेर भेनेजुएलाकी विपक्षी नेतृले अराजकतालाई पुरस्कृत गरेकी छिन्

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूले पाएको नोबेल शान्ति पुरस्कार पदक दिने निर्णय झट्ट हेर्दा हानिरहित प्रतीकात्मक कदम लाग्ला । तर, खासमा यो एक विनाशकारी राजनीतिक कदम हो । आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न खोज्दा मचाडोले आफू एक सिद्धान्तनिष्ट नेता भएको पुरानो दाबी खोक्रो रहेको साबित गरेकी छिन् । साथै यस कदमले नोबेल शान्ति पुरस्कारको महŒव नै सस्तो बनाउँदै यसमाथि भद्दा मजाक भएको छ ।

नोबेल शान्ति पुरस्कार व्यक्तिगत महत्वाकांक्षालाई भरथेग गर्न दिइने सम्मान होइन । यो त शान्ति, संयम, अन्तर्राष्ट्रिय सहयोग र कानुनको प्रतिबद्धताको सम्मान हो । भेनेजुएलामा ट्रम्पले उठाएको ‘निर्णायक कदम’का लागि नोबेल पदकलाई ‘व्यक्तिगत कृतज्ञताको प्रतीक’को रूपमा प्रस्तुत गरेर मचाडोले बलपूर्वक शासन परिवर्तनलाई समेत शान्तिको रूपमा प्रस्तुत गर्ने प्रयास गरेकी छिन् । साथै, उनले आफ्नो व्यक्तिगत सत्तारोहणमा सघाउने भए जस्तोसुकै कदमलाई पनि लोकतन्त्रका रूपमा पुन: परिभाषित गर्ने रहिछिन् भन्ने खुलाएकी छिन्, जुन नांगो अवसरवाद हो । 

ट्रम्पको निर्देशनमा भेनेजुएलाका बहालवाला राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर न्युयोर्क लग्यो । निश्चित रूपमा धेरै भेनेजुएली नागरिक मदुरोलाई घृणा गर्छन्, जसका पछाडि विभिन्न कारण छन् । तर, विदेशी राष्ट्रप्रमुखलाई तिनकै भूमिबाट अपहरण गर्नु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हो । यस्तो कदमले सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने दाबी गर्ने प्रत्येक देशलाई चिन्तित बताएको छ । तर, मचाडोले अमेरिकाको उक्त गम्भीर कानुनी उल्लंघनको खुलेर प्रशंसा गरिन् । र, अहिले त्यसै कदमका लागि ट्रम्पलाई विश्वकै सबैभन्दा प्रतिष्ठितमध्ये एक शान्ति पुरस्कारले चोख्याउन खोज्दै छिन् ।

मचाडोले ट्रम्पलाई सम्मान गरेर सैन्य कदममार्फत शान्ति स्थापना गर्नु उचित हो भन्ने विचारलाई बल प्रदान गरेकी छिन् । तर, नोबेल शान्ति पुरस्कारको स्थापना यही विचारको प्रतिरोध गर्न भएको हो ।

नर्वेली नोबेल समितिले मचाडोलाई पुरस्कार दिँदा उनले आफ्नो देशमा ‘लोकतन्त्रको ज्वालालाई भर्भराउँदो राखेको’ भन्दै सम्मानित गरेको बताएको थियो । तर, अहिले हेर्दा मचाडोले जोगाएको ज्वाला सर्तपूर्ण रहेको देखिएको छ । अर्थात्, विश्वभरबाट प्रशंसा हुने गरी चम्किलो बलेको ज्वाला शक्तिको नजिक पुग्नासाथ धिपधिप मधुरो बन्यो । 

मचाडोले ट्रम्पलाई आफ्नो नोबेल पदक प्रदान गरेर विश्वशक्तिबाट जुन अनुग्रह प्राप्त गर्ने योजना राखेको देखिन्छ, त्यसले उनको विश्वसनीयतामाथि नैै प्रश्न उठाएको छ । अहिलेसम्म ट्रम्पले मचाडोलाई भेनेजुएलाको भावी नेताको रूपमा समर्थन गरेका छैनन् । अझ भेनेजुएलामा कुनै चुनावी समयतालिका नै प्रस्ताव गरिएको छैन । बरु, मदुरोलाई हटाएपछि ट्रम्पले भेनेजुएलाका तेलको बदला मादुरोकै भित्री घेराले चलाइरहेको अन्तरिम अधिकारलाई समर्थन गरेका छन् । भेनेजुएलाबारे ट्रम्पको बोली धेरै हदसम्म सो मुलुकबाट अमेरिकाले लिने लाभ र त्यसमाथिको नियन्त्रणको सन्दर्भमा मात्र केन्द्रित देखिन्छ । मचाडोलाई पनि यो थाहा छ । त्यसैले, ट्रम्पलाई उपहार दिने कदममा उनको अज्ञानताभन्दा सत्तामा पुग्ने हतासाले काम गरेको छ ।

ट्रम्पले ओभल अफिसमा नोबेल पदक बोकेको तस्बिर र नोबेल पदक राखिएको फ्रेममा ट्रम्पको ‘सिद्धान्तनिष्ठ र निर्णायक कदम’को प्रशंसा चिन्ताजनक कुरा हो । ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कारको लोभ गर्दै आएको कसैबाट लुकेको छैन । उनले विश्वभर विभिन्न युद्ध रोकेको सूची दिँदै आफू योग्य हुँदाहँुदै अनुचित रूपमा सम्मानित नगरिएको गुनासो गरेका छन् । अहिले आएर मचाडोले ट्रम्पलाई ठ्याक्कै त्यही दिए, जुन उनले चाहेका थिए । 

यस प्रकरणमा नोबेल संस्थाको स्पष्ट अपमान भएको छ । नोबेल समितिले मचाडो र ट्रम्पको भेटअघि आफ्नो संस्थाले दिएको पुरस्कार हस्तान्तरण, बाँडफाँड वा रद्द नहुने बताएको थियो । 

यसको अर्थ मचाडोले ट्रम्पलाई पदक दिने कदमको कुनै कानुनी वा संस्थागत अर्थ हुनेछैन । मचाडोलाई पनि यो थाहा नभएको होइन । यति जान्दाजान्दै पनि यस कदम चाल्नुले यो सबैको उद्देश्य राजनीतिक हो भन्ने पुष्टि हुन्छ । तर, यसबाट नोबेल समितिको निर्णयको सार्वजनिक अपमान भएको छ र नोबेल पुरस्कारको प्रतिष्ठा यसको सिद्धान्तभन्दा चर्चासँग जोडिएको सन्देश प्रवाहित गरेको छ ।

मचाडोले भेनेजुएलामा शान्ति कायम भए वा नभएकोबारे प्रश्न गरिनन् । उनले पुरस्कारलाई अहिलेसम्म आफ्नो देशमा दमन भोगेका वा मानवीय सहायता आवश्यकता भएकाप्रति पुरस्कार समर्पित गरेकी छैनन् । बरु उनले आफ्नो पुरस्कारलाई शक्तिशालीप्रति समर्पित गरेकी छिन्, सम्भवत: शक्तिशालीले आफ्नो उद्देश्य पूर्ति गर्न सघाउला भन्ने सोचले होला । यो नैतिक साहस नभएर लेनदेनको राजनीति हो । 

मचाडोका समर्थकले तर्क गर्न सक्छन् कि हतास समयले हतास उपायको माग गर्छ । भेनेजुएलाले भोगेको पीडा अन्त्य गर्न अपरम्परागत गठबन्धन पनि गर्नुपर्ने तिनले जोड दिन सक्छन् । तर, व्यावहारिकता र सिद्धान्त परित्यागबिच एउटा घेरा हुन्छ र माचाडोले त्यसलाई पार गरेकी छिन् । उनले ट्रम्पको कदमलाई समर्थन गरेर लोकतन्त्र कानुन, सहमति र जवाफदेहितामार्फत भन्दा पनि बल र विदेशी हस्तक्षेपमार्फत प्रदान गर्न सकिन्छ भन्ने विचारलाई सामान्यीकृत गरेकी छिन् । ल्याटिन अमेरिकामा पहिले पनि यस्तो तर्क सुनिन्थ्यो, तर तिनले बिरलै स्वतन्त्रता दिलाएको इतिहास छ ।

यस प्रकरणले माचाडोको लोकतन्त्र र लोकतान्त्रिक आदर्शप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ । लोकतन्त्र भनेको चुनाव जित्नु मात्र होइन । यो त कठिन अवस्थामा पनि संस्था, कानुनी सीमा र मान्यतालाई सम्मान गर्ने अभ्यास हो । यस्तोमा आज अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको प्रशंसा गर्ने नेता भोलि अचानक यसको संरक्षक बन्नेछैन । नोबेल शान्ति पुरस्कार भूराजनीतिक जितको सम्मानमा दिने पुरस्कार होइन । यसले त प्रभुत्वभन्दा संयम र शक्तिभन्दा सिद्धान्तलाई उच्च स्थान दिने गर्छ । तर, आफ्नो पदकलाई मोलमोलाइको वस्तु बनाएर मचाडोले आफूलाई त्यस दृष्टिकोणमा विश्वास नरहेको देखाइन् । उनको भित्री चाहना जसरी पनि भेनेजुएलामा शासन गर्ने होला, तर यस क्रममा उनले नेतृत्वलाई वैध बनाउने नैतिक आधार भने गुमाएकी छिन् । यस प्रकरणले मचाडोको अडानलाई बलियो बनाउनेछैन, बरु झन् कमजोर बनाउनेछ । 

यस घटनाबाट सम्मानलाई यति सहजै अपमान गर्ने व्यक्तित्वलाई पुरस्कारका लागि योग्य ठानेकोमा नोबेल समिति पनि लज्जित हुनेछ । नोबेल समितिले भनेजस्तै नोबेल पुरस्कार पाएको व्यक्तिले अर्कोलाई हस्तान्तरण गर्न त नसक्ने रहेछ, तर यसको अपमान भने गर्न सक्ने रहेछ । मचाडोले अहिले ठ्याक्कै त्यही गरेकी छिन् । 
स्वाइन स्विडेनको उप्साला विश्वविद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धानका प्राध्यापक हुन् । 
– द स्क्रोलबाट

सुझावित समाचार