धितोपत्र लगानीकर्ताको हित तथा विश्वास अभिवृद्धि गर्ने सुनिश्चित हुने गरी सेटलमेन्ट ग्यारेन्टी फन्डको प्रभावकारी कार्यान्वयन गरिने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डलगायत सरोकारावालाले प्रभावकारी समवन्य गर्ने भएका हुन् ।
धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा बुधबार बोर्डको कार्यालयमा समन्वयात्मक बैठक भएको हो । बोर्डले आयोजना गरेको उक्त बैठकमा नेप्से र सिडिएससीले प्रणाली तथा क्लियरिङसम्बन्धी तयारी प्रस्तुत गरेका थिए ।
त्यसैगरी, एसोसिएसनले बजार सञ्चालनको व्यावहारिक अनुभवका आधारमा सुझाव प्रदान गरेको थियो । बैठकले सेटलमेन्ट ग्यारेन्टी फन्डको सहज र प्रभावकारी कार्यान्वयनका लागि थप प्राविधिक छलफल गर्दै समन्वयात्मक रूपमा अघि बढ्ने निष्कर्ष निकालेको बोर्डले जनाएको छ ।
बोर्डका साथै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिको उपस्थिति रहेको बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया तथा कार्यान्वयनका लागि अपनाउनुपर्ने कार्यको समयसीमासहितको कार्ययोजनामा छलफल भएको थियो ।
सेटलमेन्ट सुनिश्चितता सुदृढ गर्ने र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले जोखिम व्यवस्थापन, डिफल्ट व्यवस्थापन तथा सम्बन्धित निकाय र धितोपत्र व्यवसायीहरूको भूमिकासम्बन्धी विषयमा सरोकारवालाले आ–आफ्ना धारणा राखेको बोर्डले जनाएको छ ।