आज नयाँ वर्ष २६४९ मनाउँदै थारू समुदाय

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

थारू समुदायले १ माघलाई नयाँ वर्षका रूपमा मनाउँदै छन् । विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम गरी तीन दिनसम्म माघेसंक्रान्ति मनाउने प्रचलन छ । गत वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने भएकाले थारू समुदायले माघेसंक्रान्तिलाई नयाँ वर्षका रूपमा लिने गरेका हुन् । यो जातिले यस वर्ष थारू संवत् २६४९ का रूपमा मनाउँदै छन् । माघेसंक्रान्तिलाई स्वतन्त्रता पर्वका रूपमा समेत लिइन्छ । 

पश्चिम तराईमा कमैया मुक्ति हुनुभन्दा पहिले कमैया बस्ने–नबस्ने निर्णय पनि माघेसंक्रान्तिमा हुने गर्दथ्यो । अधियाँ खेत जोत्नेलाई खेतबारी दिने या नदिने निर्क्याेल पनि माघेसंक्रान्तिका अवसरमा हुने गर्छ । त्यसैले माघेसंक्रान्तिलाई सामाजिक सदभाव, मेलमिलाप, स्वतन्त्रता र सांस्कृतिक पर्वका रूपमा लिइन्छ ।

माघेसंक्रान्तिको मुख्य परिकार चामलको ढिक्री, अनदी चामलको रोटी, जाँड, रक्सी र मासु हो । सखरखण्ड, घुइँया, तरुल पनि उसिनेर खाने परम्परागत चलन थारू जातिमा अहिले पनि विद्यमान छ । थारू समुदायमा १ माघबाट मघौटा नाच सुरु हुन्छ । दिनभर घर र गाउँका छिमेकीको घरमा माघी मनाएका युवायुवती बेलुकीपख गाउँका मटावाको घरमा भेला भएर नाच सुरु गर्छन् । नाच्ने युवायुवतीले मघौटा नाचमा रुपैयाँ–पैसा लुट्ने र लुटाउने प्रचलन छ । माघेसंक्रान्तिको दिन थारू जातिले वर्ष दिनभर आफूले भोगेको दु:ख–सुखलाई गीतमार्फत प्रस्तुत गर्छन् ।

२ माघलाई थारू जाति खोज्नीबोझ्नीको दिन पनि भन्दछन् । माघी डेवानीको दिन सपरिवार बसेर घरढुर्या (घरको मूली)सँग घरको आम्दानी र खर्चको विवरण माग्दछन् । त्यसैगरी गाउँलेले गाउँको अगुवा (मटावा/बरघर)सँग वर्ष दिनको आम्दानी तथा खर्चको हिसाबकिताब माग्दछन् । यही दिन परिवारका सदस्यले सल्लाह गरी आउने दिनको योजना बनाउँदै आएका छन् । त्यसैले यो दिनलाई थारू जातिले खोज्नीबोझ्नीको दिनका रूपमा मनाउने गर्छन् । 

सपरिवार बसेर वर्षदिनमा भएका राम्रो–नराम्रो कामको समीक्षा गर्ने र आगामी दिनको योजना बनाउने भएकाले घरबाहिर रहेका परिवारका सदस्य पनि घरमा आएर छलफलमा सहभागी हुने गर्दछन् । अंशबन्डा, घर छुट्टिने, विवाह गर्ने, घर बनाउने, जमिन खरिद–बिक्री गर्ने, घरको मूली चयन गर्ने पनि यही माघी डेवानीको दिन नै गरिन्छ । यस्तै, अधियाँ खेत जोत्नेले पनि माघी डेवानीकै दिन जग्गाधनीको घरमा गएर जोत्नका लागि खेतबारी माग्ने परम्परा अहिले पनि विद्यमान छ । यसै दिन जोताहा किसान र जग्गाधनीबिच के–के सर्तमा खेतबारी खनजोत गर्ने सहमति हुन्छ ।

कमैया मुक्ति हुनुभन्दा पहिले माघी डेवानीकै दिन कमैया बस्ने र नबस्ने, वार्षिक कति हजार रुपैयाँ ज्याला लिने, सौँकी कसले तिर्ने ? लगायतका छलफल भई निर्क्याेल हुने गर्दथ्यो । कमलरी मुक्ति हुनुभन्दा पहिले कमलरी बस्ने आमाबाबु र मालिकबिच पारिश्रमिक लिने–दिने निर्णय पनि यही दिन नै हुने गर्दथ्यो । गाउँको अगुवा अर्थात् मटावा (बरघर) पनि माघेसंक्रान्तिको अवसरमा नै गर्ने प्रचलन छ । सपरिवार बसेर योजना बनाइसकेपछि गाउँको योजना बनाउने गरिन्छ । 

सुझावित समाचार