मोटरसाइकलको ट्यांकीको कभरमा लुकाएको लागुऔषधसहित दुई पक्राउ

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिका– १०, जिरोमाइलबाट प्रहरीले मोटरसाइकलको ट्यांकीको कभरमा लुकाएको प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले दक्षिणी सीमावर्ती बजार बरियारपट्टिबाट मोटरसाइकल चढेर आउँदै गरेका दुई युवकलाई मंगलबार राति करिब सवा ९ बजेतिर खैरो हिरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। पक्राउ पर्नेमा मोटरसाइकलचालक गोलबजार नगरपालिका– ३ का करिब २५ वर्षीय अभिषेक साह र सिन्धुली जिल्ला दुधौली नगरपालिका– ९, टारी घर भएका करिब ३२ वर्षीय एलेक्स आले रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

उनका अनुसार प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकल चढेर आएका दुवैजनालाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको ट्यांकीकाे  कभरमा लुकाएको प्लास्टिकसहित ४०.५५ ग्राम खैरो हिरोइनजस्तो पदार्थ बरामद भएको हो। पक्राउ गरिएका दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार