संखुवासभाको खाँदबारी नगरपालिका–१ स्थित रहेको खाँदबारी बजार अनुगमन गरिएको छ। आमउपभोक्ताको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय संखुवासभाको अगुवाइमा सरोकारवाला निकायहरू घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, नेपाल प्रहरी, संखुवासभा उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र पत्रकार महासंघलगायतको सहभागितामा बजार अनुगमन गरिएको हो ।
खाँदबारी नगरपालिका–१ स्थित देवकोटा चोकआसपासका करिब १ दर्जन होटेल तथा साना किराना पसलहरूको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।
देवकोटा चोकनजिकै सामुदायिक तथा निजी विद्यालयहरू रहेको र ती विद्यालयका विद्यार्थीहरू विद्यालय पोसाकमा धुम्रपान र मद्यपान नगरोस् भनेर होटेल तथा साना पसलहरूलाई बिक्री-वितरण गर्नसमेत सचेत रहन सजग गराइएको सहायक प्रजिअ घिमिरेले बताए। ‘विद्यालयहरू नजिकै छन्, कुनै विद्यार्थीहरू विद्यालय पोसाकमा नै धुम्रपान र मद्यपान मागे बिक्री-वितरण नगर्न अनुरोध गरिएको छ। यदि जानाजान बिक्री-वितरण गरेको भेटिए उपभोक्ता ऐन कानुनअनुसार कारबाही हुने कुरामा सजग गराएका छौँ।’ घिमिरेले भने। विद्यालयको १ सय मिटरवरपर तथा १८ वर्षमुनिका बालबालिकाहरूलाई कुनै पनि होटेल तथा किराना पसलहरूले धुम्रपान तथा मद्यपान बिक्री-वितरण गर्न पाउँदैन । यदि बिक्री-वितरण गरेको भेटिए कानुन अनुसार १० हजार जरिवानाको व्यवस्था रहेको सहायक प्रजिअ घिमिरेको भनाइ छ।
उक्त अनुगमन टोलीले होटेल तथा लजमा सेवाग्राहीहरू राख्दा लकबुक भर्ने/नभर्ने गरेको, दर्ता नवीकरणको अवस्था, खाद्यवस्तु र अखाद्य वस्तुहरू राखिएको अवस्था र किचनको सरसफाइलगायतका बारेमा अवलोकन गरिनुका साथै किराना पसलहरूको दर्ता नवीकरणलगायतका बारेमा हेरेर आवश्यकताअनुसार सल्लाह सुझाव र चेतावनी दिइएको थियो।
अनुगमन टोलीले म्याद गुज्रेका खाद्य वस्तुहरू, प्याकेट बन्द सामग्री, पेय पदार्थ जुस, कोक र बियरलगायत म्याद नाघेका सामग्रीको अवस्थाकालगायतका बारेमा अनुगमन गरेको थियो। व्यापारीहरूले नाफा कमाउने लोभमा म्याद सकिएका वस्तुहरू बिक्री गर्ने काम गर्दा आमउपभोक्ताको जीवनसँग खेलबाड हुने भएकाले नियमित रूपमा सचेत बनाउन अनुमगन गरिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ।
अनुगमन टोलीले सम्बन्धित व्यवसायीहरूलाई सल्लाह सुझाव दिँदै नियमानुसार नभए कानुनअनुसार आवश्यक स्पष्टीकरण सोध्ने तथा उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना वा व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ।
व्यवसायीहरूलाई नियम-कानुनका बारेमा समेत जानकारी दिने काम गरेको छ। उनीहरूलाई आफ्नो व्यवसाय दर्ता प्रमाणपत्र देख्ने गरी राख्नुपर्ने, मूल्यसूची राख्नुपर्ने, नवीकरण गर्नुपर्ने, म्याद रहेका सामानहरू मत्रै बिक्री-वितरण गर्नुपर्नेलगायतका कुराहरूको जानकारी गराइएको थियो। सदरमुकाम खाँदबारी, तुम्लिङटार, चैनपुरलगायतका जिल्लाका महत्त्वपूर्ण बजारहरू वेला–वेला सरोकारवाला निकायहरू अनुगमन गर्दै आएका छन्।