गगन थापालाई शंकर पोखरेलको जवाफ– भूस्वार्थमा लम्पसार नपर्नु दासता होइन, स्वाभिमान हो

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै आइतबार गरेको टिप्पणीको कडा जवाफ फर्काएका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस  दास र लासहरूको, ‘बा’ हरूको जस्तो प्रश्न नै गर्न नपाउने पार्टी नभएर लोकतान्त्रिक पार्टी भएको भन्दै एमालेमाथि कटाक्ष गरेका थिए ।

पोखरेलले सामाजिक सञ्जालबाट भूराजनीतिक स्वार्थसामु लम्पसार परेर राष्ट्रिय स्वाभिमान झुकाउने, देश जल्दा उत्सव मनाउनु ठिक भनेर निष्कर्ष निकाल्नेहरूले त्यसरी टिप्पणी गर्नु स्वाभाविक भएको भन्दै पोखरेलले कडा जवाफ फर्काएका छन् । पोखरेलले थापाले विदेशी स्वार्थ र विध्वंसकारीको एजेन्डाको नेतृत्व गर्दै एमालेमाथि प्रहार गर्न खोजेको प्रस्ट संकेत गरेका छन् ।

‘म त पाहुना हुन आएको हो । भोलि बन्दसत्रले जे निर्णय गर्छ, मलाई आपत्ति छैन । तर, कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मान्छेको पार्टी हो,’ थापाले भनेका थिए, ‘यहाँ प्रश्न मरेको छैन । नबोल भन्दै गर्दा नबोल्ने कोही छैन । यो ‘बा’को पार्टी पनि होइन । जुन पार्टीमा प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन, त्यसले समाधान दिन पनि सक्दैन । त्यसैले जिउँदो कांग्रेस बनाउने अभियानमा हामी लागेका छौँ।’

पोखरेलको जवाफ यस्तो छ :

यसरी पनि सोच्न सकिन्छ– स्वार्थका सामु लम्पसार पर्नु दासता हो त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो, त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।

संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको वेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ? हो, देश जलिरहेका वेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’जस्ता लाग्न सक्छन्। तर, ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्। ती स्पार्टाकस– जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झन्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।

सुझावित समाचार